काठमाडौं – आफ्ना मागको सम्वोधन नभएको भन्दै यातायात व्यवसायीहरुले आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन् । आन्दोलनका कारण सार्वजनिक यातायातका साधान नचल्दा सर्वसाधारणा बिहानै देखि हिडेर यात्रा गरिरहेका छन् ।
गएराती अवेर सम्मको वार्तामा सहमति हुन नसकेपछि उनीहरुले आजबाट आन्दोलन सुरु गरेका हुन् । उनीहरुले ट्राफिकले उठाउने एकहजार खारेज गर्नुपर्ने, भाडामा समायोजन गर्नुपर्ने, सहज बीमाको व्यवस्था लगायतका माग राखेका छन् । आज पनि दिउँसो २ बजे वार्ताको हुनेछ । मुख्यसचिवको नेतृत्वमा सरकारी वार्ता टोलीले मागबारे गृहकार्य गरेर सरकारको धारणा राख्नेछ ।
सरकारसँग यसअघि पटकपटक भएका सहमतिहरु कार्यान्वयन गर्न दवाव पुगोस भनेर पनि भाडाका सवारी साधन नचलाउने निर्णय भएको नेपाल यातायात व्यावसायी महासङ्घका कोषाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । नेपाल यातयात व्यवसायी राष्ट्रिय महासङ्घ, अखिल नेपाल यातयात मजदूर सङ्घ, नेपाल यातायात मजदूर सङ्घ र नेपाल यतायात स्वतन्त्र मजदूर संगठनको संयुक्त आयोजनमा बन्द आह्वान गरिएको हो ।
सरकार र यातायात व्यावसायीबीच गएराति भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि सहमति गर्ने बारेमा छलफल गर्न आज पनि वार्ता हुँदैछ । गएराति भएको वार्तामा सरकारले आफूहरुको मागको बारेमा सकारात्मक भएको बताए पनि सहमति हुन नसकेकोले आज फेरि छलफल हुन लागेको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासङ्घका कोषाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
वार्तामा मुख्य सचिव लीलामणि पौड्याल, अर्थमन्त्रालय, यातायात व्यवस्था विभाग लगायत सरोकारवाला मन्त्रालयका अधिकारीहरुको सहभागिता रहनेछ ।
सरकारसँगको वार्तामा प्रस्तुत हुने स्वरुपको बारेमा छलफल गर्न विहान ११ बजेपछि यातायात व्यावसायीहरुको छुट्टै बैठक बस्दैछ । पेशागत अधिकारको लागिभन्दै व्यावसायीहरुले भाडाका सवारीका साधन अनिश्चितकालिन रुपमा ठप्प पार्न थालेपछि सरकारले उनीहरुलाई वार्ताको लागि बोलाएको हो ।
– RSS