अर्घाखाँचीका गाउँ रित्तदै शहर भरिदै

– वीरेन्द्र केसी

 

अर्घाखाँची – सुविधा खोज्दै शहर झर्नेको संख्या बढदै गएपछि गाउँ प्रायः सुनसान हुन थालेको छन । गाउँमा काम गर्ने नभएपछि खेतबारीहरु पनि क्रमश बाँझिदै जाने क्रम अत्यधिक बढदै गएको छ ।


गाउँमा अन्न उत्पादन हुने खेतीयोग्य जमिन बाँझिदै जान थालेपछि अन्न उत्पादन पनि घटदै गएको छ । गाउँका शिक्षित वर्ग र पुँजी भएकाहरु शहर झरेका छन भने रोजगारका लागि विदेशिएका परिवारहरु पनि सुविधा खोज्दै शहरमा बसाई गर्न थालेपछि गाउँका घरहरुमा बुढाबुढी मात्रै देखिन्छन । वर्षौ देखिको भोगचलन गर्दै आएको खेतीयोग्य जमिन बाँझिदै गएको छ भने घरहरु जीर्ण भै भत्कन थालेका छन ।


जिल्ला कृषि विकास कार्यालयका अनुसार वर्षेनी खेतीयोग्य जमिन बाँझिने क्रम १० प्रतिशतले बढदै गएको छ । द्धन्द्धको बेला त्रासका कारण गाउँ छाडेर विदेशएकाहरुले शान्ति स्थापनापछि रेमिट्यान्स शहरमा खर्च गरे गाउँमा फर्किएनन् । द्धन्द्धको बेला पुरुषहरु विदेशिए हंसपुरका स्थानीय ईन्द्र रेग्मीले भने उनीहरुले वर्षौसम्म कमाएको पैसा शहरमा घर घडेरी किनेर उतै बसे गाउँमा कोही पनि आएन । गाउँका प्राय सबै घरहरुबाट १ देखि ५ जनासम्म वैदेशिक रोजगारमा छन ।


 विभिन्न पेशा व्यावसायमा लागेका टाठाबाठा र पेढेलेखेकाहरु सुविधा खोज्दै शहरमा बस्न थालेका छन । शहरमा घर नभएका तर वैदेशिक रोजगारमा रहेका पुरुषले आफनो परिवारलाई सदरमुकाममा घरभाडामा बस्न झर्ने क्रम झनै बढदै गएको उनले बताए । खेती उत्पादन गर्ने जनशक्ति नहुँदा खेतबारीहरु बाँझिने क्रम बढदै गएको छ भने गाउँका घरजग्गा बिक्री नभएपछि त्यसै छाडेर शहर झर्ने गरेको गाउँलेको भनाई छ । हाम्रा पालामा खेतबारीमा खेती नगरी ज्यान पाल्नु बाहेक अरु थिएनु सितापुरका स्थानीय ७५ वर्षीय वृद्ध खुविराम खत्रीले भने गोठभरी ५ देखि १० वटासम्म गाई भैसी २५ देखि ३० वटासम्म बाख्रा पाल्थ्यौ उतिबेला १० मुरी मकै हुने बारीमा अहिले मुस्किलले १ मुरी उत्पादन हुने गरेको छ । गाउँ अन्न भण्डारको रुपमा थियो अहिले त्यो हरायो ।

 

 शहरमा छोराछोरीलाई राम्रो बोर्डइङ स्कुलमा पढाउन र सुख सुविधा खोज्न शहर झर्नेको संख्या बढदै गएको जनजागृती उमावि सिद्धाराका प्राचार्य रोमाकान्त बाजाडेले बताए । उनका अनुसार धनी मान्छहरुले समेत गाउँ छाडेर गएका छन । गाउँमा घरहरु देखिएपनि धेरै जसो रित्ता छन भने धेरैमा बुढाबुढा मात्रै भेटिने गरेको उनले बताए । बसाईसराई गरेर जानेले गाउँका खेतबारी बिक्री नभएपछि त्यसै अर्कालाई गर खा भनेर छाडदै जाने गरेको बाजाडेको भनाई छ ।


जिल्ला कृषि विकास कार्यालय प्रमुख यामनारायण देवकोटाका अनुसार गाउँमा कति खेतबारी बाँझिदैछन भन्ने तथ्याङ्क नभएपनि सदरमुकाम बाहेक सबै गाविसमा प्रत्येक वर्ष २० प्रतिशत खेतीयोग्य जमिन बाँझिएका छन । गाउँमा रहेका अन्न उत्पादन हुने खेतीयोग्य जमिन बाँझिदै जानु र सदरमुकाम र आसपासका खेतीयोग्य जग्गालाई प्लटिङ्ग गरी घडेरीमा परिणत गर्दा जिल्लाको समग्र रुपमा हेर्दा ४० प्रतिशत अन्न उत्पादन घटदै गएको देवकोटाको भनाई छ । रेमिटयान्सका कारण सदरमुकामका घडेरीहरु अति अर्को मुल्यमा बढेका छन । सबैभन्दा बढी शान्ति स्थापनापछि बसाईसराईको क्रम बढदै गएको हो ।

 




Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।