गू ले ब्रिटिश उद्योगपतिको हत्या गरेको स्वीकारिन

चीनका पूर्व राजनीतिज्ञ बो शिलाईकी पत्नी गू काईलाईले ब्रिटिश उद्योगपति नील हेवुडको हत्या गरेको स्वीकारेकी छिन् । चिनियाँ समाचार एजेन्सी सिह्न्वाका अनुसार विहीवार शुरु गरिएको उनीविरुद्धको हत्या आरोपको सुनुवाईक्रममा हत्याको जिम्मेदारी उनले स्वीकारेकी हुन् ।


आफ्नो छोरालाई जोखिम देखेर मानसिक सन्तुलन गुमाउँदा उक्त घटना भएको गू काईलाईले स्वीकारेको सिह्न्वाले जनाएको छ । यसबापत हुने सजायँ स्वीकार्ने र सामना गर्ने उनले बताएकी छिन् ।

 

 गतवर्षको नोभेम्बरमा आफ्नो छोरामाथि जोखिम देखेपछि आफूले हत्या गर्नुपरेको र यसलाई लुकाएर राखेको उनको भनाइ छ । नील हेबुडसँग व्यापारिक सम्झौतामा गडबडी भएपछि उनका छोरामाथि खतरा बढेको हुनसक्ने अनुमान गरिएको छ । यसै कारण हेवुडलाई विष दिएर हत्या गरिएको थियो ।

 

यस अपराधमा गू काईलाई लाई मृत्युदण्डकै सजायँ हुनसक्ने बताइएको छ । यस आरोपमा अर्का एक जना जाँग शियाओ पनि दोषी पाइएका छन् । हत्या प्रकरणमा जोडिएपछि चीनका उदीयमान नेता बो शिलाईको राजनीतिक यात्रा समाप्त भएको छ ।