काठमाडौं – युनिटी प्रकरण मुद्दामा चारवटा अभियोग लागेका युनिटी इन्टरनेसनलका मुख्य सञ्चालक काशीराम गुरुङलगायतका पदाधिकारीलाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
न्यायाधीश बाबुराजा कार्कीको एकल इजलासले राजस्व चुहावट, बिनाअनुमति वित्तीय कारोबार सञ्चालन, बिनाअनुमति बैंक सञ्चालन र ठगी गरेको आरोपमा थुनछेक आदेशमाथि बहस सकिएपछि आज यस्तो आदेश दिएको श्रेस्तेदार रमेशप्रसाद ज्ञवालीले जानकारी दिए।
उनका अनुसार बिनाअनुमति वित्तीय कारोबार सञ्चालन, बिनाअनुमति बैंक सञ्चालन र ठगीका मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने आदेशका साथै उसबाट राजस्व छलीसम्बन्धी मुद्दामा रु. २५ लाख धरौटी माग गरिएको छ।
दुई वर्षअघि उजुरी परेपनि फरार रहेका गुरुङलाई ललितपुरस्थित महानगरीय प्रहरी परिसर र अपराध अनुसन्धान शाखाको टोलीले यही साउन १७ गते इलामको पशुपतिनगरबाट पक्राउ गरी ल्याएको थियो।
सो मुद्दामा अभियोग लागेका भीमबहादुर गुरुङ, नेत्र राजवंशी, इन्द्रबहादुर विक र विश्वनाथ गौतम यस अघिनै पक्राउ परेका थिए। अन्य तीन जना अझै फरार रहेको श्रेस्तेदार ज्ञवालीले बताए।
आफ्ना सदस्यहरुलाई कमिसन, बीमा, लाभांशजस्ता आकर्षक योजनामा सहभागी बनाउने प्रलोभन दिई नेपाल र विदेशमा करिब तीन लाख ६६ हजार सदस्य बनाएर रु चार अर्ब बराबरको रकम सङ्कलन गरेको आरोप युनिटी पदाधिकारीहरुमाथि लगाइएको छ।
सो युनिटीले बिनाअनुमति हाउजिङ, बीमा, बैंकिङ क्षेत्रमा लगानी गर्दै आएको थियो। रासस