सीटीईभीटीले नयाँ शैक्षिक सत्रका लागि लिएको प्रवेश परीक्षा रद्द

मकर श्रेष्ठ


भक्तपुर  – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) ले नयाँ शैक्षिक सत्रका लागि लिएको प्रवेश परीक्षा रद्द भएको छ । सीटीईभीटीले साउन ५ गते छात्रवृत्तिमा अध्ययन गर्न चाहनेहरुका लागि र ६ गते पूर्ण शुल्क तिरेर पढ्न चाहनेका लागि प्रवेश परीक्षा लिएको थियो ।


सीटीईभीटी अन्तर्गतका २१ प्राविधिक विषयमा ३० हजारभन्दा बढी विद्यार्थी प्रवेश परीक्षामा सम्लग्न थिए । ५ गतेको परीक्षामा राजधानीमा नक्कली विद्यार्थी भेटिएको र ६ गतेको परीक्षा अघि नै पूर्वाञ्चलमा प्रश्नपत्र बाहिरिएको निष्कर्ष निकाल्दै परीक्षा रद्द गरिएको हो । परीक्षामा अनियमितता भएको आशंकामा शिक्षा मन्त्रालयले शैक्षिक जनशक्ति केन्द्रमा निर्देशक सूर्यप्रसाद गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।


समितिले शनिबार दिएको प्रतिवेदका आधारमा आइतबार बसेको सीटीईभीटीको बैठकले परीक्षा रद्द गर्ने निर्णय गरेको परिषदका सदस्यसचिव जयबहादुर टन्डनले बताए । बैठकले आगामी भदौ ९ गते पुनः परीक्षा लिने र १४ गते नतिजा प्रकाशित गर्ने निर्णय गरेको उनले बताए ।