– पि एम मगर
गुल्मी साउन ३० – गुल्मी जिल्लाका युवा तथा विद्यार्थी संगठनहरुले जिल्लामा सरकारविरुद्ध थप आन्दोलनको घोषणा गरेका छन्। अवैधानिक जनविरोधी राष्ट्रघाती सरकारको तत्काल बर्हिगमन गरी सहमतिको राष्ट्रिय सरकार निर्माण गर्दै नयाँ संविधान निर्माण गर्ने वातावरण बनाउन देशभर साचालित युवा विद्यार्थी संयुक्त आन्दोलन अन्तर्गत जिल्लामा पनि ती संगठनहरुले आज संयुक्त विज्ञप्ती जारी गर्दै आन्दोलनका कार्यक्रमहरुको सार्वजनिक गरेको हो।
आन्दोलनका कार्यक्रमहरुलाई प्रभावकारी वनाउन युवा संघ नेपाल नेपाल तरुण दल अखिल नेपाल युवक संघ नेपाल विद्यार्थी संघ अनेरास्ववियू तथा अनेरास्ववियू छैठौँका प्रतिनिधी रहेको आन्दोलन परिचालन समितिको गठन गरेको विज्ञप्तीमा उल्लेख छ। आन्दोलनका कार्यक्रम अन्तर्गत सरकारको वैधानिकता परीक्षण गर्नका लागि भन्दै यही साउन ३२ गते रेसुङ्गा वहुमुखी क्याम्पसमा विहान र लाँकुरी माचमा दिउँसो मतदान सम्पन्न गर्ने निर्णय भएको जनाईएको छ। मतदानमा भाग लिई सरकारको वहिर्गमन र सहमतिको वातावरण निर्माणमा दवाव सिर्जना गर्न गुल्मीवासीलाई आग्रह समेत गरिएको विज्ञप्तीमा उल्लेख छ। त्यस्तै भदौँ १ गते मतगणना गरी भदौँ ३ गते मत परिणाम राष्ट्रपतिसमक्ष पठाउने विज्ञप्तीमा जनाईएको छ। प्रेस विज्ञप्तीमा युवा संघ नेपालका अध्यक्ष कृष्ण भण्डारी नेपाल तरुण दलका छवि पाण्डे अखिल नेपाल युवक संघका तारा कुवँर नेपाल विद्यार्थी संघका निरोज मरासिनी अनेरास्ववियूका ओम कार्की र अनेरास्ववियू छैठौँका योगेन्द्र काउछा लगायतको हस्ताक्षर रहेको छ।
आन्दोलनको केन्द्रीय कार्यक्रम अनुसार मङ्गलवार गुल्मी जिल्ला प्रशासन कार्यालयमा पनि युवा विद्यार्थी संगठनहरुले २ घण्टा धर्ना दिएका छन। प्रधानमन्त्री डा. वावुराम भट्टराईले सत्ता छाड्नुपर्ने भन्दै विपक्षी दलका युवा विद्यार्थीहरुले धर्ना दिएका हुन्। केाणसभालाई सम्वोधन गर्दै नेकपा एमाले निकट युवा संघका जिल्ला अध्यक्ष कृष्णप्रसाद भण्डारीले प्रधानमन्त्री भट्टराईले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने वताए। उनले आन्दोलनका आगामी कार्यक्रमहरुलाई पनि थप शसक्त वनाएर लैजाने वताए। विरोध कार्यक्रममा युवा संघ नेपाल तरुण दल नेपाल विद्यार्थी संघ अनेरास्ववियू लगायतका पदाधिकारीहरुको सहभागीता थियो। त्यस्तै विपक्षी दलका १७ युवा विद्यार्थी संगठनहरुले मंगलवार नै युवा स्वरोजगार कोष र देशभरका जिल्ला प्रशासन कार्यालयमा २ घण्टा घेराउ गरेका छन्।