एकीकृत नेकपा माओवादीको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन घोषणा – ‘गिरिजाबाबुको अभाव खड्कियो, सुशील गैरजिम्मेवार’ – प्रचन्ड

एकीकृत नेकपा माओवादीको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन घोषणा भएको छ । काठमाडौको एक होटलमा बुधवार पत्रकार सम्मेलन गरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको २१ दलको गठबन्धन घोषणा भएको हो ।
गठबन्धनमा सत्तारुढ सबै दल र बिघटित संविधानसभामा प्रतिनिधित्व गर्ने केही साना दल सहभागी छन् । मोर्चामा २१ वटै दलका अध्यक्षहरु सदस्यको रुपमा रहेका छन् । गठबन्धन घोषणा गर्दै माओवादी अध्यक्ष प्रचण्डले संघीयता पक्षधर एक ठाउँमा उभिँदा मात्रै समस्या समाधान हुने भएकाले राजनीतिक निकासकै लागि गठबन्धन गठन गरेको बताउनुभयो ।
गठबन्धन कसैको बिरुद्धमा नभएको भन्दै उहाँले कांग्रेस, एमाले लगायतका दलहरुलाई सहमतिमा आउन अपील गर्नुभयो । प्रचण्डले प्रधानमन्त्रीको राजीनामा नआउने पनि बताउनुभयो । राजीनामाले मुलुकको संकट नगर्ने भन्दै उहाँले राजीनामा माग्नेहरु सहमतिको बाधक भएको आरोप लगाउनुभयो ।
कांग्रेसको नेतृत्व कमजोर भएका कारण पनि मुलुकमा राजनीतिक गतिरोध बढेको उहाँको भनाई छ । संविधानसभाको म्याद तीन महिना थप्ने प्रस्तावमा कांग्रेस सभापति सुशील कोइरालाले गैरजिम्मेवार भूमिका खेलेको उहाँले बताउनुभयो ।
प्रचण्डले सहमतिको लागि पहिले भन्दै आएको दुईवटा विकल्प पनि दोहोर्याउनुभयो । पहिलो विकल्प संविधानसभाको चुनाव र दोस्रो संविधानसभा पुनस्र्थापना हुनसक्ने उहाँको भनाई छ । संविधानसभाको चुनाव गरी संविधान जारी गरेर त्यसलाई संसदमा रुपन्तारण गर्नु उपयुक्त विकल्प भएको प्रचण्डले बताउनुभयो ।
पहिचान सहितको संघीयतामा सहमति भए केही समयको लागि संविधानसभा पुनस्र्थापना पनि गर्न सकिने प्रचण्डको भनाई छ । राजनीतिक सहमतिको लागि भन्दै सत्तारुढ दलको नेतृत्वमा मोर्चाबन्दी भएको भनिएपनि कांग्रेस र एमालेले भने आफूलाई संघीयता बिरोधी देखाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।