प्रधानमन्त्री डा. बाबुराम भटटराई बुधवार चितवन आउदै हुनुहुन्छ । प्रत्येक महिना गाउँमा बास बस्ने कार्यक्रम अन्र्तगत पहाडी गाबिस सिद्धीको गाबिस भवनमा बास बस्ने कार्यक्रम छ ।
सिद्धी गाबिसका ८३ वर्षिय बन्दीपुरे चेपाङ ओडरमा बस्दै आएको समाचार सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्रीले चितवनको चेपाङ बाहुल्य रहेको क्षेत्रमा भ्रमण गर्ने इच्छा ब्यक्त गर्नुभएको थियो ।
खोला र सडकको असुविधाका कारण बन्दीपुरे चेपाङ बस्ने गाउँमा भने प्रधानमन्त्री पुग्ने सम्भावना नदेखिएको सरकारी स्रोतले बताएको छ । बन्दीपुरे चेपाङलाई पनि सिद्धी गाबिसको भवनमै ल्याएर प्रधानमन्त्रीसंग भेट गराउने तयारी भैरहेको छ ।
प्रधानमन्त्रीका लागि नारायणगढको क्याटरिङको खानेकुरा लगिदैछ । प्रधानमन्त्री आउने जानकारी पाएपछि चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दुवाडी सहित सुरक्षा निकायको टोली मंगलवार नै सिद्धी गाबिस पुगेर त्यहाँको बस्तुस्थिति बुझेको थियो । शक्तिखोरदेखि सिद्धी गाबिस भवनसम्म पुग्ने ग्रामीण कच्ची सडक बिग्रिएकोले मगलवार अबेर मर्मत गरिएको छ ।
प्रधानमन्त्री चितवन आएलगत्तै भरतपुरमा रहेको नेपाल प्रहरीको मध्य क्षेत्रीय तालिम केन्द्रमा केही बेर आराम गर्ने र त्यही चितवनका सरकारी कार्यालयका प्रमुखहरुसंग भेट गर्ने कार्यक्रम छ ।
साँझपख सिद्धी गाबिस पुगेर गरिबी निबारण कोषको कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
प्रधानमन्त्रीको निर्देशनमा गरिबी निवारण कोषले सिद्धी गाबिसमा चेपाङ समुदायको जीवनस्तर उकास्न करिब तीन करोड रुपैयाँ लगानी गर्दै छ । प्रधानमन्त्रीसंगै नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेल पनि चितवन आउदै हुनुहुन्छ ।