सत्तारुढ दलहरु एकीकृत माओवादी र मधेसीद्धारा जातीय संघीयताका लागि भन्दै नयाँ गठबन्धन घोषणा

सत्तारुढ दलहरु एकीकृत माओवादी र मधेसी मोर्चाले केही साना समूहहरु समेटेर ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ घोषणा गरेका छन्।


गठबन्धनको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्।


काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा मोर्चा घोषणा गर्दै प्रचण्डले आफुहरुले चाहेको जस्तो संघीयतामा जान गठबन्धन गरेको बताए।

उनले भने, “जातीय पहिचान सहितको संघीयता पक्षधर र संविधानसभाबाटै संविधान जारी हुनुपर्छ भन्ने समान विचार राख्ने समूहहरु एकठाउँमा नआइ गतिरोधको निकास ननिस्कने देखेर मोर्चा बनाउनु परेको हो।”


गठबन्धनमा सत्तारुढ घटकहरु एकीकृत माओवादी, मधेसी मोर्चा बाहेक केही साना समूहहरु सहभागी रहेको बताइएको छ।
कार्यक्रममा प्रचण्डले मुख्य विपक्षीदलहरु नेपाली कांग्रेस तथा नेकपा एमालेलाई संविधानको वाधकको संज्ञा दिँदै चर्को आलोचना गरेका थिए।

 

विपक्षीहरुले भने नयाँ गठबन्धन घोषणालाई सत्ता टिकाउने चाल भन्दै आलोचना गरेका छन्।


कांग्रेस नेता रामशरण महतले भने, “संघीयता र गणतन्त्र विरोधी कुनै दल छैनन्, त्यसैका लागि मोर्चा बनाउन आवश्यक थिएन। मोर्चा बनाएर सत्तारुढ दलले मुठभेडतर्फ मुलुकलाई लगेको छ।”


कस्तो संघीयता भन्ने विवादकै कारण निर्धारित समयमा संविधान जारी गर्न विफल भएका दलहरु आ-आफ्ना अडानमा दृढ देखिन्छन्।

सत्तारुढ गठबन्धन होस् या विपक्षी दलहरु दुवै संघीयताबारे सकारात्मक देखिन्छन्।


तर दुबै पक्ष संघीय संरचनामा गएपछि स्थानीयवासीलाई कस्तो र कति अधिकार कसरी दिने, संघीय संरचनामा कस्तो प्रशासन रहने लगायतका विषयमा प्रवेशै नगरी खाली जातीय संघीयतामा जाने कि नजाने भन्दै नाममा मात्र लडाइ गरिरहेको देखिन्छ।

 

– rss