साहित्यकार झपेन्द्र जीसीको “हिड्दा हिड्दै” प्रबन्ध संग्रह विमोचन

– उमाकान्त पाण्डे “गाउंले”  
साहित्यकार तथा लेखक झपेन्द्र जीसीद्वारा लिखित हिड्दा हिड्दै प्रबन्ध संग्रहको एक कार्यक्रम विच शुक्रवार बुटवलमा विमोचन भएको छ । 
पुस्तकको विमोचन गर्दै प्रमुख अतिथि साहित्यकार बालकृष्ण भट्टराईले भन्नुभयो -झपेन्द्रको पुस्तक योजनाकार,अनुसन्धानकर्ता,पर्यटनकर्मी एवम् विकासप्रति चासो राख्ने सबैले गहिरो अध्ययन गर्नु आवश्यक छ । 
पुस्तकले नयाँ विचार दिएको छ,विभेद विरुद्ध संगठित गराएको छ र जीवन अनि जगतलाई बुझ्न प्रेरित समेत गरेको छ । 
कार्यक्रमका विशिष्ट अतिथि राजनीतिज्ञ छविलाल विश्वकर्माले राजनीतिलाई सही बाटोमा हिडाउन साहित्यले पनि जोड दिनु पर्ने बताउनु भयो । 
पुस्तकको समीक्षा साहित्यकारद्वय डा.हिरण्य ज्ञवाली र टंक पन्थले गर्नु भएको थियो । पत्रकार सेनानी मेघराज शर्मा,रेडाका कार्यकारी निर्देशक लीला कार्की,साहित्यकार विजय सागर र बनमाली निराकारले पुस्तकको सफलता र लेखकलाई बधाई समेत दिनु भयो । 
साथै पुस्तका लेखक झपेन्द्र जीसीले पुस्तकको रचना गर्भका बारे प्रस्टयाउनु भएको थियो । जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष देबेन्द्र घिमिरेको अध्यक्षता,सोमनाथ अर्यालको स्वागत भाषण र दलबहादुर गुरुङको साचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।