चीन र जापानवीचको विवादास्पद टापुमा जापानी अधिकारकर्मीहरु प्रवेश

काठमाडौं । चीन र जापानवीचको विवादास्पद टापुमा जापानी अधिकारकर्मीहरु प्रवेश गरेका छन् । जापानको नियन्त्रण रहेको ईस्ट चाईना सी अन्तर्गतको सेन्काकु टापुमा एक दर्जनभन्दा बढी जापानी अधिकारकर्मी प्रवेश गरेका हुन् ।चीनमा दियायु नामले चिनिने यही टापुमाथि चीन र ताईवानले पनि दावी गरिरहेका छन् । अघिल्लो हप्तामात्रै केही चिनिया अधिकारकर्हीहरु यो टापुमा प्रवेश गरेपछि जापानले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।


चिनिया अधिकारकर्मीहरुलाई रिहा गरीएको केही दिनमै जापानका अधिकारकर्मीहरु त्यहाँ पुगेपछि दुई देशको सम्बन्ध फेरी तनावपूर्ण अवस्थामा पुगेको छ । दोस्रो विश्वयुद्धताका सोही टापु नजिक ज्यान गुमाएका जापानी सैनीकको स्मृतीसभाको लागि जापानी अधिकारकर्मीहरु त्यहाँ पुगेको दावी गरिएको छ ।


तर उनीहरुले टापुको सबैभन्दा उचाईमा जापानी झण्डा फहराउने घोषणा गर्नुलाई भने चीनले नियोजित षड्यन्त्र भनेको छ । ग्यास र पेट्रोलियम पदार्थका खानीहरुले धनी ईस्ट चाईना सी का टापुहरुमाथि दुबै राष्ट्रले दशकौदेखी दावी गरिरहेका छन् । विवादास्पद उक्त टापु ईस्ट चाईना सी क्षेत्रको महत्वपुर्ण समुद्री मार्ग मानिन्छ ।