मधुसुदन गुरागाईँ
बनेपा – नेकपा-माओवादीका महासचिव रामबहादुर थापाले राजनीतिक निकासका लागि बाबुराम भट्टराई नेतृत्वको सरकारलाई अपदस्त गर्नुपर्ने बताएका छन्। छिट्टै अग्रगामी शक्तिको नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने उनको भनाई थियो।
काभ्रेको बनेपामा नेकपा-माओवादीको पार्टी कार्यालय उद्घाटन गर्दै महासचिव थापाले पुरानो १२ बुँदेको औचित्य समाप्त भएको बताए। ‘पुरानो १२ बुँदेको औचित्य अहिले छैन,’ उनले भने, ‘चाँडै नै नयाँ १२ बुँदेको सहमति गेर्नु जरुरी छ।’
उनले सडकमा भएका सबै दलहरुसँग मिलेर गोलमेच सभा गर्नुपर्ने बताए। उनले गणतन्त्रवादीहरु एकता हुन अपरिहार्य रहेको स्पष्ट पारे।
उनले पार्टीको नाम जेसुकै भए पनि नामको पछाडि नदौडिन सबैमा आग्रह गरे। ‘नामको पछाडि नकुद्नुस्,’ उनले भने, ‘काम कस्तो गरेको छ त्यो हेर्नुस्।’
उनले बाबुरामले घोषणा गरेको चुनाव र ज्ञानेन्द्र शाहले घोषणा गरेको नगरपालिको चुनाव एउटै हैसियत भएको बताए। ‘निरंकुशवादीहरुले मात्र यस्तो चुनाव घोषणा गर्छन्,’ उनले भने, ‘यस्ता नौटंकीवाजहरुको घोषणा कहिले पूरा हुँदैन।’