सरकार अधिनायकवादी बाटोमा लागेको मसालका महामन्त्री मोहनविक्रम सिंहको आरोप

– नेकपा  मसालका महामन्त्री मोहनविक्रम सिंहले सरकार अधिनायकवादी बाटोमा अघि बढेको उल्लेख गर्दै राष्ट्रिय सहमतिको सरकार बनाएर नयाँ निर्वाचनमा जानुपर्ने मार्गचित्र प्रस्तुत गरेका छन् । ‘देशमा तानाशाही व्यवस्था लाद्ने उद्देश्यले नै एमाओवादीले सहमतिको सरकार गठन गर्न संविधानका विषयमा सहमति हुनुपर्ने पूर्वसर्त राखेको हो,’ आइतबार संवाददातासँगको भेटमा सिंहले भने, ‘विदेशी विस्तारवादी र जातिवादी शक्तिको समर्थनमा कामचलाउ सरकारलाई निरन्तरता दिने प्रयास भइरहेको छ । यो सरकार जति लम्बिन्छ, राष्ट्रिता र सार्वभौमिकता उतिनै खतरामा पर्छ ।’


कामचलाउ सरकारले राष्ट्रिय महत्त्वका निर्णय गर्न नसक्ने उल्लेख गर्दै सिंहले निर्वाचनसम्बन्धी अध्यादेश अस्वीकृत गर्ने राष्ट्रपतिको कदम उचित भएको जनाए । ‘यो सरकारलाई निरन्तरता दिनु भनेको अधिनायकवादी शासन निम्त्याउनु हो,’ उनले भने, ‘अध्यादेश अस्वीकार गर्ने राष्ट्रपतिको कदम स्वागतयोग्य छ ।’



 राष्ट्रिय सहमतिको सरकार र नयाँ निर्वाचन राजनीतिक गतिरोधको निकास हुने उनको विश्लेषण छ ।


सत्तारूढ एमाओवादीले सहमतिको आवश्यकतालाई मुखले मात्र अस्वीकार नगरेको तर व्यवहारमा फलामे ढोका बन्द गरेको उनको टिप्पणी छ । ‘२५ वर्ष शासन गर्ने कुरा तानाशाही व्यवस्था लाद्ने मनसायबाटै आएको हो,’ उनले भने, ‘यसका विरुद्ध जनआन्दोलनको आवश्यकता छ ।’ कामचलाउ सरकार जति लम्बियो उत्तिनै राष्ट्रियता र सार्वभौमिकता खतरामा पर्ने उनको दाबी छ ।


‘यो सरकारलाई समर्थन गरी भारत बढीभन्दा बढी स्वार्थ सिद्ध गर्न चाहन्छ,’ उनले भने, ‘यहाँ संविधान बनेर स्थिर सरकार बनेमा आफ्नो स्वार्थ सिद्ध नहुने देखेर नै संविधानसभा विघटन गराइको हो ।’ संघीयताको रूपका विषयमा दलहरूबीच विवाद भए पनि सत्तामा बसिरहने एमाओवादी स्वार्थका कारण संविधानसभाको अवसान भएको उनले बताए ।
स्रोत. कान्तिपुर