राजनीतिक सहमति नभए पुष्पकमल दाहालको एकीकृत माओवादीले बल प्रयोग गर्ने

काठमाडौं  – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ले शान्तिपूर्ण ढंगले राजनीतिक सहमति भएन भने बल प्रयोग गर्ने बेला आउने बताएका छन् । नेवा राज्य समितिका नेता तथा कार्यकर्तालाई आइबार प्रशिक्षण दिंदै दाहालले यस्तो बताएका हुन् ।


‘हामी शान्तिपूर्ण राजनीतिक कार्यदिशामा छौ, यसबाट भएन भने बल प्रयोग गर्ने बेला आउने छ’ उनको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘त्यसबेला समाजवादमा जान सकिनेछ  ।’


उनले पार्टीले माथिबाट हस्तक्षेप र तलबाट संघर्ष गरी बाँकी क्रान्ति पुरा गर्न सकिने बताए । ‘हामीले बाँकी क्रान्ति पुरा गर्न माथिबाट हस्तक्षेप र तलबाट संघर्ष जारी राख्नुपर्छ’ उनले भने । उनले संघीयताका विषयमा दलहरुबीच टकरावको अवस्थामा आएको समेत जनाए ।


कांग्रेस-एमालेले २००७ सालदेखि १४ सालजस्तै प्रधानमन्त्री परिवर्तन गर्ने बाटोमा लागेको आरोप लगाउूदै सहमति नभएसम्म सरकार नछाड्ने बताए ।


प्रशिक्षणमा प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टीभित्र एउटै कार्यदिशा भएको उल्लेख गर्दै गुट अन्त्य गर्ने बताए । ‘हाम्रो कार्यदिशा एउटै छ’ उनले भने, ‘अब हामी पार्टीभित्र गुट हुन दिदैनौ ।’ उनले बिप्पा सम्झौतालगायतका विषयमा भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेका थिए ।

 

– RSS