भारतको आसाममा भएको हिंसाका कारण मुम्बईका नेपालीहरु धमाधम नेपाल फर्किदै/ परीचय पत्र बोकेर हिंड्न परराष्ट्र को सुझाब

भारतको कर्नाटक राज्यको राजधानी वैंग्लोरमा आक्रमणको हल्ला फैलिएपछि मुम्बईमा रहेका नेपाली कामदारहरु धमाधम घर फर्किन थालेका छन् ।



आइतवारमात्र करिव ३ सय नेपाली मुम्बईबाट बिहारतर्फ लागेको भारतीय दैनिक पत्रिका टाइम्स अफ इण्डियाले जनाएको छ । उनीहरु बिहार हुँदै  नेपाल फर्किनेछन् । नेपालीहरुको अनुहार उत्तरपूर्वी क्षेत्रका भारतीय नागरिकसँग मिल्ने र सोही आधारमा आफुहरुमाथि आक्रमण हुनसक्ने भन्दै नेपालीहरु पलायन भइरहेको पत्रिकाले जनाएको छ ।



नेपाली कामदारहरु पलायन हुन उनीहरु कार्यरत मुम्बई होटल, रेष्टुँरा तथा अन्य ब्यबसाय बन्द हुन थालेका छन् । रोजगारदाताले आसाम हिंसाका कारण नेपालीहरुमाथि कुनैपनि आक्रमण नहुने भन्दै आश्वस्त पार्न प्रयास गरेपनि नेपाली र आसामी उस्तै देखिने भएकाले खतरा रहेको भन्दै देश फर्किएको वताइएको छ ।



यसैवीच सोमबारमात्र महेन्द्रनगरको गड्डाचौकी हुँदै करिव एक सय नेपाली कामदार र बिद्यार्थी नेपाल फर्किएका छन् । आक्रमणको हल्लासँगै पछिल्ला तीन दिनमा नेपाल ती क्षेत्रबाट नेपाल फर्किनेहरुको संख्या ह्वात्तै बढेको छ । फर्किने कामदारहरुले त्यहाँको अबस्था त्रासपूर्ण रहेको र सुरक्षित नहुने देखेपछि फर्किएको बताए ।



यसअघि वैंग्लोरमा रहेका नेपाली बिद्यार्थीहरुले पनि आफुहरुमाथि आक्रमणको प्रयास भएको भन्दै नेपाल फर्किने वातावरण मिलाउन नेपाल सरकारसँग आग्रह गरेका थिए । तर दिल्लीस्थित नेपाली दूतावासले भने आक्रमणको हल्ला अफवाहमात्र भएको वताउँदै आएको छ ।



नेपालको परराष्ट्र मन्त्रालयले हल्ला भएजस्तो अबस्था नबिग्रेको बताउँदै नआत्तिन र अनाबश्यक दौडधुप नगर्न आग्रह गरेको छ ।



परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले नेपाली नागरिकको सुरक्षाका लागि भारतसँग आग्रह गरिएको जानकारी दिनुभयो ।