पूर्व गृहमन्त्री खुमबहादुर खड्कालाई सर्वोच्चले भ्रष्टाचारी ठहर गरेको बिरोधमा कांग्रेस निकट युवा तथा विद्यार्थी सङ्गठनद्धारा दाङ बन्द

दुर्गालाल केसी

 

दाङ – पूर्व गृहमन्त्री खुमबहादुर खड्कालाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको बिरोधमा कांग्रेस निकट युवा तथा विद्यार्थी सङ्गठनले मंगलबार दाङ बन्द गराएको छ । बन्दका कारण आज विहानैदेखि जिल्लाको जनजीवन प्रभावित भएको छ ।

तुलसीपुर, घोराही लमही, भालुवाङ् र गढवा बजार ठप्प भएका छन्  । जिल्लाभित्र र बाहिर चल्ने सम्पूर्ण सवारी साधन बन्द भएका छन् । पूर्व पश्चिम राजमार्गको भालुवाङ र अर्जुनखोलामा गाडीहरु रोकिएको प्रहरीले जनाएको छ । बन्दकर्ताले घोराहीको बैंकरोडमा एउटा मोटरसाइकल तोडफोड गरेका छन् । तोडफोड गर्ने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी गणेशबहादुर ऐरले बताए ।


सर्वाेच्च अदालतको फैसला पूनर्विचार गरिनुपर्ने माग राख्दै नेपाल  विद्यार्थी संघ र तरुण दलले बन्द आह्वान गरेका हुन् ।


उता प्युठानमा भने प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा माग गर्दै नेपाल तरुण दल प्यूठानले जिल्ला बन्दको आहृवान गरेको छ । विहानैदेखि यातायातका साधन सञ्चालन हुन नसकेको स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समिति प्यूठानले जनाएको छ ।