काठमाडौ – राजधानी काठमाडौंबाट प्राप्त समाचार अनुसार सरकारले माओवादी सेनाको रेखदेख समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिको समयावधि ३ महिनाका लागि थप गरेको छ । समाचार अनुसार बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले साउन मसान्तमा सकिएको विशेष समितिको म्याद थप गर्ने निर्णय गरेको हो ।
त्यस्तै, विभिन्न अध्यादेश सिफारिस गर्ने विषयमा छलफल भएपनि कुनै निर्णय भने हुन नसकेको शिक्षा मन्त्री दीनानाथ शर्माले जानकारी दिए । सरकारले संवैधानिक निकायहरुमा रिक्त पद र राजदूत नियुक्ति गर्न, वेपत्ता छानविन तथा मेलमिलाप आयोग गठनका लागि अध्यादेश ल्याउने तयारी गरेको थियो । त्यस्तै, शिक्षा ऐन, स्वास्थ्य सेवा ऐन, स्थानीय प्रशासन ऐन र निजामती ऐनलाई संशोधन गर्न प्रस्तावित अध्यादेशमा बैठकमा छलफल भएपनि पारित भने भएन । गणतन्त्र कार्यान्वयन सम्बन्धी ऐनका लागि सहित ७ वटा अध्यादेश ल्याउने तयारी सरकारले गरेको छ ।
समाचार अनुसार बैठकले संयुक्त राष्ट्र सङ्घका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यले यही भदौ १५ देखि लागु हुने गरी दिनुभएको राजीनामा स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै
सहरी विकास मन्त्रालयअन्तर्गत राजपत्राअङ्कित द्वितीय श्रेणीका अधिकृत हरिप्रसाद रिजालले एक महिनापछि स्वतः अवकाश पाउने गरी उनलाई गत साउन २५ गतेदेखि लागु हुने गरी राजपत्राअङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ ।