सुवर्णखालमा विजुली आएको खुसीयालीमा रातभर नाचगान

– वीरेन्द्र केसी

 

सुवर्णखाल, अर्घाखाँची – लामो समयको प्रयासमा गाउँमा विजुली आएपछि सुवर्णखालका गाउँले विजुलीको उज्यालोमा रातभर नाचगान गरेर खुसीयाली मनाए । विद्युत प्राधिकरणका कर्मचारीले टान्समिटरबाट स्वीच अन गरेर विजुली बलेको घोषणा गरेपछि गाउँमा खुसीयाली छाएको छ । पहिलोपटक विकट सुवर्णखालका गाउँमा विजुली आएपछि गाउँलेले खुसीयालीमा दिनभर अभिरटीका लगाएर मिठाई बाँडदै भोजभतेर समेत गरे भने रातभर  विजुलीको बत्ती मुनि बसेर आयौ विजुली तिमी हाम्रो गाउँघर उज्यालो बनायौ भन्ने भावनाका तीज गित विहानीपखसम्म गाउँदै र नाच्दै खुसीयाली मनाए । सुवर्णखालकी कमला चुँदाली विजुली बल्दा हर्षित बनिन । दुर्गम गाउँ भएकाले विजुली आउला भन्ने आशा थिएन, उनले भनिन भौगोलिक बनावटले छरिएर रहेको विकट वस्तीमा गाउँ उज्यालो हुँदा हामी खुसी छौ । दुर्गम गाउँ एकाएक उज्यालो हुँदा अहिले सबैभन्दा खुसी छाएको छ ।

 


– विजुली बल्दा एक आपसमा अभिरटीका फुलमाला लगाएर भोजभतेर गरी खुसीयाली मनाउँदै गाउँलेहरु । विजुली बलेको खुसीयालीमा गाउँलेले रातभर बत्ती मुनि बसेर गीत भएर र नाचेर रमाईलो गरे ।

 

स्थानीय हिमलाल बेल्वासेले अब टुकीको भर पर्नु परेन घर गाउँ उज्यालो भएकाले छोराछोरीले राम्ररी पठन घरमा काम गर्न धेरै सजिलो भएको बताए । गाउँमा सबैभन्दा खुसी महिलाहरु छन । मधुरो टुकीको भरमा विहान बेलुका घरको चुलाचौको काम गर्दा साह्रै दुःख हुन्थ्यो,  गृहणी कमला खनालले भनिन अब घरमै बसेर रातभरी काम गर्न सकिने भयो । मट्टितेलको टुकीमा पढदा काम गर्दा निस्कने धुँवा नाक भित्र पसेर असर गर्ने र विरामी हुने समस्या थियो अब छोराछोरीले पनि खुसी भएर पढेको शिक्षक ॠषि भुसालले बताए । यसले स्वास्थ्यलाई समेत फाईदा पुगेको छ । टुकीकै कारण साना खरले छाएका घरहरुमा वर्षेनी आगो लाग्ने समस्या पनि अब हटेको गाउँलेले बताए । बुढेशकाल लागेको वृद्धवृद्धाहरु खुसी भए ।  जवानामा दियालो र आगोको अगुल्टोको भरमा काम गरेको अनुभव सुनाउँदै ७४ वर्षीय चन्द्रबहादुर चुँदालीले भने यस्तो पो बल्दो रहेछ विजुली त मर्ने बेलामा विजुलीको उज्यालो देख्न पाएकोमा खुसी छु ।

 


विजुली बल्दा एक आपसमा अभिरटीका फुलमाला लगाएर भोजभतेर गरी खुसीयाली मनाउँदै गाउँलेहरु । विजुली बलेको खुसीयालीमा गाउँलेले रातभर बत्ती मुनि बसेर गीत भएर र नाचेर रमाईलो गरे ।


दुर्गम गाविस भएकाले भौगोलक बनावटले घरहरु छरिएर रहेकाले अहिले सबै गाउँमा विजुली बल्न नसकेपनि उदघाटनका दिन त्रिलोक सिख्र भेडाबारी गाउँका ४४ घरमा विजुली बल्यो भने सबै गाउँमा छिटै बत्ती बालिने सुवर्णखाल विद्युत उपभोक्ता समितिका अध्यक्ष तिलकराज बेल्वासेले बताए । भौगोलक वनावट अप्ठयारो भएकाले जोखिमपुर्ण रुपमा ठेक्का लिएको डीएयसए कन्टक्सन एण्ड टान्सपोटेशन सर्भिस प्रालि कम्पनीलाई सितापुरबाट सुवर्णखालसम्म ६ किलोमिटरको दुरीमा  पोल गाडन र तार टाग्न ३ वर्ष लागेको थियो । भौगोलिक बनावट अप्ठयारो र डरलाग्दो छाँगो सहितको भीर भएपनि स्थानीय गाउँलेको सहयोगले छोटो समयमा पनि विजुली बाल्न सफल भएको कम्पनीका संचालक दिपक कार्कीले बताए ।


गाउँमा विद्युतीकरण गर्न सुवर्णखाल गाविसको ३ लाख जिविसको ६ लाख विद्युत प्राधिकरणको ५ लाख र स्थानीय जनश्रमदान ३ लाख रुपैयाँ गरी १७ लाख रुपैयाँको लागतमा विद्युतीकरण कार्य सम्पन्न भएको अध्यक्ष बेल्वासेले बताए । वाँकी गाउँहरुमा पनि सबै पुर्वाधार तयार भएको र गाउँलेको माग अनुसार विद्युत जडान गरिने प्राधिकरण अर्घाखाँची शाखा प्रमुख हरि पाण्डेले बताए । जिल्लाका ग्रामीण भेगमा तीव्र रुपमा विद्युतीकरण भैरहेको छ । अहिलेसम्म ४२ मध्ये ३६ गाविसमा विजुली पुगेको छ ।  

 

 


Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।