भारतको उत्तरपूर्वी आसाम राज्यमा जातीय हिंसा मच्चाएको आशंकामा प्रहरीले एक स्थानीय नेतालाई पक्राउ गरेको छ । राज्यसभाका सांसद प्रदीप ब्रम्हालाई उनको घरबाट प्रहरीले हिजो पक्राउ गरेको हो । ब्रमहा सत्तासीन कंग्रेस पार्टीको गठबन्धनमा समेत रहेको क्षेत्रीय बोडोलेन्ड पिपुल्स फ्रन्ट (बीपीई)का नेता हुन् ।
तीन साताअघि आदिवासी बोडो जाति र मुस्लिमबीच साम्प्रदायिक द्वन्द्व हुँदा ८७ व्यक्तिको मृत्यु भएको थियो । द्वन्द्वपछि २ लाख ५० हजारभन्दा बढी विस्थापित बनेका छन् । आसाममा लामो समयदेखि मुस्लिम बंगाली आप्रवासी र आदिवासी समूहबीच तनाब कायम छ । पश्चिम कोक्राझार क्षेत्रबाट प्रतिनिधित्व गर्ने ब्रम्हाविरुद्ध आसामका विभिन्न प्रहरी स्टेसनमा सातओटा निवेदन दर्ता गरिएका छन् ।
गत महिना भएको जातीय द्वन्द्वले कोक्राझार, धुबुरी र चिराङलगायतका क्षेत्र नराम्रोसँग प्रभावित भएका छन् । धुबुरी जिल्लामा भएको पछिल्लो हिंसामा थप दुईजना मारिएको समाचारमा जनाइएको छ । यसैबीच, कोक्राझारमा अहिले पनि अनिश्चितकालीन कफ्र्यु लगाइएको छ भने सेनाले नजिकका जिल्लमा २४ सै घन्टा गस्ती गरिरहेको छ।
– Agencies