LIVE: चन्द्रमामा पहिलो पटक मानव पाइला टेकेका अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको निधन


LIVE: अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको ८२ वर्षको उमेरमा शनिबार निधन भएको छ। चन्द्रमामा पहिलो पटक मानव पाइला टेकेको इतिहास राखेका आर्मस्ट्रङको निधन भएको उनको परिवार स्रोतले बताएको छ।

 

८२ औँ जन्मदिनको दुई दिनपछि अगस्त ७ मा मुटुको बाइपास सर्जरी गरेका उनको निधन भएको परिवारले पुष्टि गरेको छ।



निधनको पहिलो खबर अमेरिकाको एनबीसी न्युजले दिएको हो। मुटुको शल्यक्रियापछि स्वास्थ्यमा देखिएको जटिलता उनको मृत्युको कारण बनेको अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन्।

आर्मस्ट्रङले सन् १९६९ को जुलाई २० मा चन्द्र धरातलमा पहिलो पटक मानव पाइला राखेका थिए। उनी नासाको अपोलो ११ मिसनको कमान्डर थिए।

विदा आर्मस्ट्रङ। फाइल तस्बिरः एपी


अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले निधनको खबर सार्वजनिक हुने बित्तिकै वक्तव्य निकाली मानव धरातलमा पहिलो पटक पाइला टेक्ने अन्तरिक्ष यात्रीको मृत्युको खबरले आफूहरु दुःखी भएको बताएको छ।

आर्मस्ट्रङले चन्द्र धरातलमा पाइला टेकेपछि बोलेको वाक्यलाई मानव इतिहास कै सबैभन्दा चर्चित वाक्यका रुपमा लिइन्छ। त्यतिबेला उनले भनेका थिए- यो मान्छेको एउटा सानो पाइला हुन सक्ला, तर मानवताका लागि यो ठूलो फड्को हो।

आर्मस्ट्रङको परिवारले पनि एक वक्तव्य जारी गर्दै भनेको छ- ‘तपाईँहरुलाई निलको सम्मानमा के गर्न सकिन्छ भन्ने लागेको होला, अर्को पटक खुला आकाशमा चन्द्रमा तपाईँतिर मुस्कुराइरहेको देख्नुभएमा निल आर्मस्ट्रङलाई सम्झुनस् र आँखा झिम्क्याइदिनुस्।’

 

– एजेन्सी

 





 

चन्द्रमामा पुग्ने पहिलो अन्तरीक्ष यात्री नील आर्मस्ट्रंगको ८२ बर्षको उमेरमा निधन भएको छ । सन् १९६९ को जुलाईमा अपोलो ११ मिशनको नेतृत्व गर्दै चन्द्रमामा पुगेर तहल्का मच्चाएका अमेरीकी अन्तरिक्षयात्री आर्मस्ट्रंगको गत अगष्ट ७ तारीखको दिन मुटुको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पुर्णरुपले सफल हुन नसकेपछि मुटुकै समस्याको कारण उनको निधन भएको हो ।

 

अमेरीकी युद्धक विमानका चालक आर्मस्ट्रंगले एरोनोटिकल इन्जिनियरिङ अध्ययनका क्रममा विभिन्न शोध परियोजनाहरुमा काम गरेका थिए । अमेरीक नौसेनाको फाईटर जेट उडाँउदै गर्दा उनलाई अमेरिकी अन्तरीक्ष एजेन्सी नासामा आवद्ध गरिएको थियो । सन् १९३० मा जन्मिएका आर्मस्ट्रंगले ६ वर्षको उमेरमै आफ्नो बाबुसँग पहिलो उडान गरेका थिए । बाल्यकालमै गरिएको उक्त उडानको छाप यसरी प-यो, उनी आफ्नो जिवनभर नैं विभिन्नस्तरमा विमान, फाईटर जेट हुँदै रकेटसम्म उडाउन पुगे ।

 
सन् १९६२ मा नासासँग आवद्ध हुनुअघि आर्मस्ट्रंगले सन् १९५० को कोरीयन युद्धमा नेभी फाईटर जेट उडाएका थिए । आर्मस्ट्रंगले आजभन्दा ४२ वर्ष अगाडि चन्द्रमामा पहिलो पटक पाईला टेक्दा विश्वका करोडौं जनताले टेलिभिजनमार्फत उनलाई प्रत्यक्ष हेरेका थिए । त्यसयता मानव जगत र जिवनको लागि उनको खोज र सफलतालाई ठुलो उपलब्धिका रुपमा हेरीएको थियो । सहयात्री ईड्विन बज एल्ड्रिनसँगै चन्द्रमामा पाईला टेकेका आर्मस्ट्रंगले चन्द्रमामा तीन घण्टा बिताएका थिएभने पहिलोपटक चन्द्रमाको सतहका विभिन्न तस्विरहरु लिएका थिए ।