कास्की । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग राखेर आन्दोलनरत पोखरेलीहरुले सांकेतिक रुपमा विमानस्थल निर्माणको काम थाल्ने भएका छन् । उनीहरुले भदौ १३ गते प्रस्तावित विमानस्थलको जग्गामा सांकेतिक रुपमा निर्माण कार्य थाल्ने जनाएका छन् ।
विमानस्थल निर्माण कार्य अगाडि बढाउने नाममा आर्थिक चलखेल समेत भएकोे सार्वजनिक भएपछि निर्माणका लागि दवाव दिन सांकेतिक रुपमा काम थाल्न लागेको आन्दोलनकारीहरुले जनाएका छन् ।
विमानस्थल निर्माणको प्रारम्भिक चरणमा तारजाली र जमिन सम्याउने काममा मात्रै झण्डै ११ करोड भन्दा बढि रकम खर्च भईसकेको छ ।
आन्दोलननकारीहरुले आज चौथो दिन पनि विमानस्थल निर्माणका लागि दवाव दिँदै रिले अनसन जारी राखेका छन् । उनीहरुले आन्दोलनलाई सशक्त बनाउन अर्थ संकलन अभियान समेत शुरु गरेका छन् । – RSS