तेहरानमा हुने असंलग्न आन्दोलन नामको सोह्रौं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री भट्टराई भोली इरान जाने

काठमाडौं –  प्राप्त समाचार अनुसार तेहरानमा हुने असंलग्न आन्दोलन (नाम) को सोह्रौं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बाबुराम भट्टराई बुधबार इरान जाने भएका छन् ।


समाचार अनुसार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बिहीबार सुरु हुने दुईदिने सम्मेलनमा प्रधानमन्त्री भट्टराईले ‘विश्वव्यापी साझा सुशासनद्वारा दिगो शान्ति’ विषयमा नेपालको धारणा राख्ने छन् ।


मंगलबार सुरु हुने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सोमबारै प्रस्थान गरिसकेका छन् । अमेरिका, बेलायतलगायत पश्चिमेली राष्ट्रले उक्त सम्मेलनमा नेपालको सहभागिता नहोस् भन्ने चाहेका थिए । सार्वभौम र स्वतन्त्र मुलुकको कूटनीतिक मान्यताअनुसार सम्मेलनमा भाग लिन लागिएको परराष्ट्रमन्त्री श्रेष्ठले बताए ।


सम्मेलनमा न्युयोर्कस्थित राष्ट्रसंघीय नियोगका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य, इरान मामला हेर्ने इस्लामावादस्थित राजदूत भरतराज पौड्याल, परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई, शिष्टाचार महापाल निरन्जनमान सिंह बस्न्यातलगायत सहभागी हुनेछन् । १९६१ मा सुरु भएको नाम अभियानमा अहिले १ सय २० असंलग्न मुलुक सदस्य छन् ।