इरानको राजधानी तेहरानमा असंलग्न राष्ट्रहरुको शिखर सम्मेलन शुरु


 

आजदेखि इरानको राजधानी तेहरानमा असंलग्न राष्ट्रहरुको शिखर सम्मेलन शुरु भएको छ । यसका लागि सदस्य राष्ट्रका सरकार र राष्ट्र प्रमुखहरु तेहरान पुगेका छन् । दुई दिवसीय सम्मेलनमा अमेरिका र उसका सहयोगी राष्ट्रहरुको वर्तमान विदेश नीतिबारे छलफल हुने अनुमान छ । आणविक कार्यक्रमका कारण हालैका केही वर्षयता निकै विवादमा परेको इरानले सम्मेलनको आयोजना गरेको हो ।

 

सम्मेलनको उद्घाटन इरानका वरिष्ठ नेता आयतुल्लाह अलि खामेनीले गर्दै छन् । कम्तीमा पनि ३० देशका सरकार तथा राष्ट्रप्रमुखले सम्मेलनलाई सम्बोधन गर्दै छन् । इजिप्टका हालै निर्वाचित राष्ट्रपति मोहम्मद मोर्सीलगायत भारत, पाकिस्तान, लेबनान, सुडान जिम्बाबेका सरकार तथा राष्ट्र प्रमुखहरुले सम्मेलनमा बोल्ने बताइएको छ । इरानी समूहका देशहरु भनेर चिनिने उत्तर कोरिया, भेनजुएला र सिरियाबाट सरकार तथा राष्ट्रप्रमुखहरु नभई वरिष्ठ सरकारी अधिकारीहरुले सम्मेलनमा सहभागीता जनाउने बताइएको छ ।

 

 सम्मेलनको एउटा एजेन्डा पश्चिमा राष्ट्रहरुले इरानमाथि लगाइएको आर्थिक नाकाबन्दीको विरोध गर्नु रहेको आयोजकहरुले जनाएका छन् । राष्ट्रसंघको कार्यप्रणालीलाई संघका समग्र सदस्यप्रति प्रजातान्त्रिक बनाउनुपर्ने तथा सिरियामा वलपूर्वक नभई त्यहींका नागरिक र सरकारसँगको परामर्शमा समाधान खोजिनुपर्ने पनि सम्मेलनको एजेन्डा हुने बताइएको छ ।

 

यसका अतिरिक्त मानवअधिकार आणविक केन्द्रको विषय र विश्वमा हाल एक प्रमुख चुनौतीका रुपमा रहेको आतंकवादको विषय पनि सम्मेलनको एजेन्डामा छ । रुस र अमेरिकाको कारण विश्वको राजनीति दुई धु्रवमा बाँडिएका बेला यी दुबै राष्ट्रको समूहमा बस्न नचाहने राष्ट्रहरु मिलेर शीतयुद्धपछि सन् १९६१ मा असंलग्न राष्ट्रहरुको साझा संगठनको स्थापना गरेका थिए । संगठनमा विश्वका १ सय २० देश छन् । सम्मेलनमा राष्ट्रसंघका महासचिव बान कि मून पनि पर्यवेक्षकको पमा सहभागी हुने जनाइएको छ ।