बेलायत सरकारले लन्डन मेट्रोपोलिटन विश्वविद्यालयलाई विदेशी विद्यार्थी पढाउन दिएको लाइसेन्स रद्द, हजारौं प्रभावित


 

बेलायत सरकारले लन्डन मेट्रोपोलिटन विश्वविद्यालयलाई विदेशी विद्यार्थी पढाउन दिएको लाइसेन्स बुधवार रद्द गरेको छ । आफ्नो नियम उल्लंघन गरेको जनाउँदै  लाइसेन्स रद गरिदिएपछि करिब तीन हजार अन्तर्राष्ट्रिय विद्यार्थी प्रभावित हुने भएका छन् ।  सरकारले गरेको  यो कठोर निर्णयसँगै त्यहाँ अध्ययनरत तीन हजार अन्तर्राष्ट्रिय विद्यार्थीले ६० दिनभित्र अर्को शैक्षिक संस्था नखोजे स्वदेश फर्कनुपर्ने वाध्यता आइलाग्ने छ ।

निलम्बनमा परेको महिना दिनपछि लाइसेन्स रद्द हुँदा उच्च विश्वसनीय स्पोन्सर रहेको सो विश्वविद्यालयले अब इयु बाहेकका अन्तर्राष्ट्रिय विद्यार्थी झिकाउन पाउने छैन् भने त्यहाँबाट विद्यार्थीको भिसा थपका लागि कन्फर्मेसन् अफ एसेप्टेन्स् फर स्टडिज (क्यास) जारी गर्न समेत बन्देज हुनेछ ।
यसबाट करिब ५ सय नेपाली विद्यार्थी प्रभावित भएको बेलायतको नेशनल युनियन अफ स्टुडेन्ट्सका सिनियर नेशनल एक्जुकेटिभ काउन्सिलर सूर्य प्रकाशले बताए ।


नेशनल युनियन अफ स्टुडेन्ट्सले सरकारको यो अनुदार निर्णयप्रति आक्रोश पोखेको छ । स्काई न्यूजका अनुसार, सो युनियनले प्रधानमन्त्री डेभिड क्यामरुन र गृहमन्त्री टेरेसा मेलाई सम्पर्क गरेर उच्च शिक्षामार्फत युके अर्थतन्त्रमा वर्षेनी १२ दशमलव ५ विलियन पाउण्डको योगदान बिर्सेर त्यस्तो निर्णय गरिएकामा आक्रोश पोखेको हो ।युनियनका अध्यक्ष लियम बर्नसले सरकारको निर्णयप्रति आक्रोश पोख्दै अन्तर्राष्ट्रिय विद्यार्थी राजनीतिक खेलको चेपुवामा परेको दावी गरेका छन् ।


लाइसेन्स खोसिएपछि विश्वविद्यालयका भाइस चान्सलर माल्कोम गिलिज्ले आफ्नो वेवसाइटमा दुःख व्यक्त गर्दै यस मुद्दा किनारा लगाउन युके वोर्डर एजेन्सी, आफ्नै विश्वविद्यालयको विद्यार्थी युनियन र नेशनल युनियन अफ स्टुडेन्ट्सको सामिप्यमा काम शुरु भइसकेको बताएका छन् । वेवसाइटमा आफ्नो पहिलो


प्राथमिकता विद्यार्थी नै रहेको समेत उल्लेख छ । उता, युनिभर्सिटीज् मन्त्री डेभिड विलेट्सले आफ्नो गल्ती विना प्रभावित भएका अन्तर्राष्ट्रिय जेहेन्दार विद्यार्थीहरुको सहयोगका लागि एउटा कार्यदलले छिट्टै काम गर्ने आश्वासन दिएका छन् । करिब १६० वटा डिग्री कोर्स पढाउने सो विश्वविद्यालयमा झण्डै २९ हजार विद्यार्थी छन् ।

 

– एजेन्सी