प्रधानमन्त्री बाबुराम भट्टराई र भारतीय प्रधानमन्त्रीबीच बिना सहयोगी वान टु वान तेहरानमा भेटवार्ता

Iranian officials have dismissed the UN concerns over their nuclear activitiesतेहरान – प्रधानमन्त्री बाबुराम भट्टराई र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता भएको छ। बिहीबार अबेर भएको भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो। दुई प्रधानमन्त्रीबीच बिना सहयोगी ‘वान टु वान’ वार्ता भएको थियो।   


असंलग्न मुलुकहरुको शिखर सम्मेलनका क्रममा सम्मेलनस्थलकै लबीमा एक घन्टाभन्दा बढी समय भएको भेटमा नेपालको पछिल्लो राजनीतिक स्थिति र राजनीतिक दलहरुबीच भइरहेको सहमतिको प्रयासबारे कुराकानी भएको प्रधानमन्त्री भट्टराईले राससलाई जानकारी दिए।

 

भेटका क्रममा प्रधानमन्त्री भट्टराईले भारतबाट नेपाललाई दिने भनिएको २०० मेगावाट विद्युत् पूर्णरुपमा उपलब्ध गराउन र प्रसारण लाइनको समस्या भएका स्थानमा प्रसारण लाइनको व्यवस्था गर्ने वातावरण मिलाइदिन आग्रह गरेका थिए। सो आग्रहमा भारतीय प्रधानमन्त्री सिंहले तत्काल २०० मेगावाट विद्युत् नेपाललाई उपलब्ध गराउने भन्ने विगतको सहमतिअनुसार नै उपलब्ध गराइने बताए।

प्रधानमन्त्री डा भट्टराई र भारतीय प्रधानमन्त्री सिंहबीच ‘वान टु वान’ भएको भेटमा प्रधानमन्त्री डा भट्टराईले नेपालको आर्थिक समृद्धिमा सहयोग गर्न र नेपालमा लगानी बढाउनका लागि नेपालका तर्फबाट आग्रह गरेका थिए।


दोहोरो आर्थिक वृद्धिको लक्ष्य हासिल नगर्दासम्म जनताको जीवनस्तर उठ्न नसक्ने भएकाले यसतर्फ नेपाल सरकार लागेको र त्यसमा सहयोग गर्न भारत सरकारलाई प्रधानमन्त्री भट्टराईले आग्रह गरेका थिए। यसैगरी नेपालको जलस्रोत र आर्थिक विकासमा सहयोग गर्न पनि प्रधानमन्त्री भट्टराईले भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।


भारतीय प्रधानमन्त्रीले नेपालको आग्रहअनुसार नै भारत सरकार नेपाललाई सहयोग गर्न तयार रहेको र नेपाललाई विशेष सहयोग गर्ने बताए। नेपाल आफ्नो देशको सहयोगसूचीमा अग्रस्थानमा छ भन्दै भारतीय प्रधानमन्त्रीले नेपाललाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए।


नेपालको पछिल्लो राजनीतिक घटनाक्रमप्रति विशेष चासो राखेका भारतीय प्रधानमन्त्री सिंहले राजनीतिक सङ्कटको समाधान नेपालका राजनीतिक दलहरुको सहमतिमै निस्कने विश्वास व्यक्त गरे। उनको भनाइ थियो -नेपालको वर्तमान राजनीतिक सड्कटको समाधानका लागि नेपालका राजनीतिक दलहरु नै सक्षम छन्, दलहरुबीचको सहमति नै प्रमुख विषय हो।


सो अवसरमा प्रधानमन्त्री डा भट्टराईले दलहरुका बीच सहमतिको प्रयास भइरहेको र संविधानसभाबाटै संविधान निर्माण गर्नुपर्छ भन्नेमा सबै राजनीतिक दल प्रतिबद्ध रहेको बताए। “हामी सबै दल सहमति निर्माणका क्रममा छौँ, छलफल र संवाद भइरहेको छ, छिट्टै सहमति कायम गरेर अगाडि बढ्नेमा दलहरु एकमत रहेको मैले जानकारी गराएँ, उहाँ(भारतीय प्रधानमन्त्री)ले दलहरु मिलेर अगाडि बढ्नु नै नेपालको हितमा रहेको बताउनुभयो,”- प्रधानमन्त्री डा भट्टराईले जानकारी दिए।


“भेट एकदमै महत्वपूर्ण रह्यो, वर्तमान सरकारले चालिरहेको कदमप्रति उहाँ(भारतीय प्रधानमन्त्री)ले खुसी व्यक्त गर्नुभएको थियो” प्रधानमन्त्री डा भट्टराईले भने। रासस