पार्टी फुटेपछिको सम्पत्तिबारे एकीकृत माओवादी र नेकपा-माओवादी बीच सैद्धान्तिक सहमति

काठमाडौं – पार्टी फुटेपछिको सम्पत्तिबारे एकीकृत माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी बीच सैद्धान्तिक सहमति भएको छ ।


एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र माओवादी अध्यक्ष मोहन वैद्यसहितका दुवै पार्टीको कार्यदलले सम्पत्ति विवाद टुंग्याएको हो । पार्टी कमिटीको पोजिसनअनुसार सम्पत्ति बाँडफाट गर्ने सहमति भएको कार्यदल सदस्य एवं वैद्य माओवादीका सचिव देवप्रसाद गुरुङले जानकारी दिए ।


वैद्य माओवादीले सम्पत्तिको ६० प्रतिशत हिस्सा खोज्दै आएको थियो । ‘फाइनल हुन बाँकी छ,’ गुरुङले भने, ‘छिट्टै टुंग्याउने गरी गृहकार्य गरेका छौं ।’


गुरुङका अनुसार केन्द्र र जिल्लामा चल अचल सम्पत्तिको हिस्सा फरक फरक हुने छ । ‘कुनै जिल्लाको कमिटीमा हाम्रा साथीहरु धेरै हुनुहुन्छ,’ उनले भने, ‘त्यहाँ हामीले बढी हिस्सा पाउँछौं ।’


एकीकृत माओवादी विभाजन भएपछि पार्टी कार्यालय र सम्पत्तिका विषयमा झडप हुन थालेपछि दुवै माओवादीले कार्यदल बनाएर वार्ता सुरु गरेको थियो ।

 

– ईकान्तिपुर