प्रकाश बराल
बागलुङ – चारदिनदेखि विद्यार्थीहरूमा भाइरल ज्वरोको समस्या देखिएपछि यहाँको एक विद्यालयको पढाइ बन्द भएको छ ।
बुर्तिवाङ-४ रिनामको नवज्योती प्राविका अधिकांश बालबालिका बिरामी परेपछि स्थानीय बिदामा कटाउने गरी एक साताका लागि विद्यालय बन्द गरिएको प्रअ ओमलाल खनालले बताए । विद्यार्थी मा टाउको दुख्ने, ज्वरो आउने र कमजोर हुने समस्या देखिएपछि विद्यालय आउन नसकेपछि विद्यालय बन्द गर्नु परेको विद्यालयले जनाएको छ ।
बालबालिकाहरू दुई तिहाइ घटेकाले विद्यालयको पढाइ बन्द गर्नुपरेको खनालले बताए । स्वास्थ्य संस्थामा लैजानका लागि अभिभावकलाई शिक्षकहरुले सल्लाह दिएका छन् । गुणस्तरीय शिक्षाका लागि व्यावहारिक ज्ञान समेत दिन थालिएको उक्त विद्यालयमा विद्यार्थी घटेपछि पढाइ सञ्चालन गर्दा गुणस्तर खस्कने डरले बिदा दिने निर्णय शिक्षक अभिभावकको बैठकले गरेको हो ।
बिरामी विद्यार्थी लाई उपचारका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्यकेन्द्रमा लगिए पनि स्वास्थ्यकर्मीहरूको कमीले कठिनाइ भएको छ । उक्त केन्द्रका डाक्टर जीवन थापा एक वर्ष अघि काज सरुवा भएर धौलागिरि अञ्चल अस्पताल गएकाले सिनियर अहेवको भरमा मात्र सञ्चालनमा छ । उक्त केन्द्रमा डाक्टर अभाव भएकाले पटकपटक विभागका जानकारी गराए पनि व्यवस्था गर्न नसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत सागर दाहालले बताए ।
यता विद्यालय सञ्चालनका लागि समस्या परेपछि स्थानीय बिदामा कटाउने गरी बिदा दिने विद्यालयको निर्णयलाई जिल्ला शिक्षा कार्यालयले पनि सामान्य रूपमा लिएको छ । जिल्ला शिक्षा अधिकारी महेन्द्र पौडेलले क्षतिपूर्ति दिने गरी अप्ठ्यारो पर्दा विद्यालयमा बिदा दिन पाइने बताए ।