ताप्लेजुङको एफएम रेडियोले सर्वसाधारण नागरिकको मृत्युमा पनि प्रत्येक दिन एक मिनेट शोक धुन बजाउने

ताप्लेजुङ  – राजनेता, उच्च पदस्थ व्यक्तिको निधनमा शोक मनाइन्छ । राष्ट्रिय झन्डा झुकाइन्छ र सार्वजनिक बिदासमेत गरिन्छ । सर्वसाधारण नागरिकको मृत्युमा भने सामान्यतया यस्ता कुनै पनि गतिविधि गरिन्न ।


ताप्लेजुङको एउटा एफएम रेडियोले भने सर्वसाधारण नागरिकको मृत्युमा प्रत्येक दिन एक मिनेट शोक धुन बजाउन थालेको छ । कार्यक्रम ‘श्रद्धा सुमन’ मार्फत मृतकको विवरण प्रस्तुत गरेर साँझ ६ः३० बजे शोक धुन बजाउँछ ।


ताप्लेजुङ एफएम ९४ मेगाहर्जका कार्यक्रम प्रस्तोता इन्द्र सरोवर बजगाईंले भने, ‘हरेक नागरिकले समाजमा केही न केही योगदान पुर्‍याएको हुन्छ, उसको योगदानको कदर गर्न यस्तो कार्यक्रम बनाएको हो ।’


उनका अनुसार विवरण पाएसम्म मृतकले गरेका योगदानको चर्चासमेत गरिन्छ । यसपछि शोक धुन बजाउने गरिएको छ । ‘पहिला सबैको विवरण प्रस्तुत गर्छौं अनि उनीहरूको नाम दोहोर्‍याएर धुन बजाउँछौं,’ बजगाईंले भने ।


कार्यक्रम शोकाकुल भएको आभास दिलाउने गरी प्रस्तुत गरिन्छ । श्रोताले यसलाई आत्मसम्मानका रूपमा लिएकाले एफएम सुनिने क्षेत्रका बासिन्दाले मृतकको विवरण टिपाउने गरेको उनी बताउँछन् । ‘अहिले त हाम्रो एफएम नसुनिने झापा, मोरङबाट पनि विवरण आउन थालेको छ,’ बजगाइर्ंले भने, ‘यो कार्यक्रमबाट नागरिक राम्रा काम गर्न प्रेरित हुन्छन् भन्ने अपेक्षा गरेका छौं ।’


कार्यक्रममा मृतकले बनाएका फलैंचा, चौतारा, धारो, कुवा, स्कुल, धर्मशालाजस्ता सार्वजनिक स्थलको विकासलाई बढी जोड दिइन्छ । नराम्रा कुरालाई जानेर वा नजानेर यस्तो भूल पनि गर्नुभएको थियो भनेर दर्शाउने गरिएको छ । सुन्नेले कार्यक्रमलाई आत्मसम्मानका रूपमा लिएको एफएमको बुझाइ छ ।

 

कान्तिपुर