राष्ट्रियता, वर्तमान राजनीति र जनजीविकाका समस्याहरुप्रति ध्यानाकर्षण गराउँदै मोहन वैद्य नेतृत्को नेकपा-माओवादीले प्रधानमन्त्री बाबुराम भट्टराई समक्ष सोमबार ७० सूत्रीय मागहरु बुझाएको छ।
अधिकांश मागहरु १७ वर्षअघि माओवादीले सशस्त्र विद्रोह थाल्नुअघि बाबुराम भट्टराई आफैले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउबासमक्ष बुझाएका बुँदाहरुसंग मिल्दोजुल्दो छन्।
आफ्ना माग पुरा नभए सडक आन्दोलन थाल्ने चेतावनी माओवादीले दिएको छ।
एकीकृत माओवादीबाट हालै अलग भएको नेकपा-माओवादीका नेताहरुको एक समूहले सोमबार प्रधानमन्त्री भट्टराईलाई भेटेर सो मागपत्र बुझाएको हो।
मागपत्र बुझाउँदै नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले १७ वर्षअघि बाबुराम भट्टराईले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउबालाई ४० सूत्रीय मागहरु बुझाएको स्मरण गराएको बताए।