‘दिनहुँ करिब २५ जनासम्म भाइरल ज्वरोको उपचारका लागि इमर्जेन्सी पुग्ने गरेका छन्,’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, जेनरल प्राक्टिस र इमर्जेन्सी विभागका प्राध्यापक डा.भरतकुमार यादव भन्छन्, ‘यसमा एक सय तीन डिग्रीसम्म उच्च ज्वरो देखिएको छ ।’ पाटनको इमर्जेन्सीमा दिनहुँ पुग्ने करिब एक सय तीसदेखि एक सय ५० जनामध्ये हाल करिब तीस जनासम्म भाइरलका रोगी छन् ।
एक सातादेखि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुको बहिरंग विभागमा दिनहुँ २५ जनासम्म भाइरल ज्वरोका रोगी पुग्ने गरेको डा.राजेश साह बताउँछन् । ‘चार/पाँच दिनयता भाइरल ज्वरोका रोगीको संख्यामा वृद्घ िदेखिएको छ,’ उनले भने । त्रिवि शिक्षण अस्पतालको बहिरंग विभागमा समेत भाइरल ज्वरोको समस्या लिएर पुग्नेहरूको संख्या बढ्दो छ । ‘गत वर्षको दाँजोमा भाइरल ज्वरो बढी देखिएको छ,’ मेडिसिन विभागका प्रमुख डा.शशि शर्मा भन्छन्, ‘हालको भाइरल ज्वरोमा भने रोगीहरूलाई टाउको दुखाइ र ज्वरो लामो समयसम्म आइरहेको देखिएको छ ।’ भाइरल ज्वरो तीनदेखि पाँच दिनसम्म आफैं निको हुने मान्यता रहे पनि हाल सात दिनभन्दा पनि बढी समय लिइरहेको समेत डा.शर्मा बताउँछन् ।
हाल देखिएको भाइरल ज्वरोमा रोगीले सबैभन्दा पहिले टाउको दुखाइको समस्या देखिने गरेको छ । एक/दुई दिन टाउको दुखाइपछि ज्वरोले समेत समात्छ र त्यसपछि रुघा लागेजस्तो लक्षण देखिने डा.शर्माले बताए । यस्ता ज्वरोका सिकारहरू पहिलो दिन नै टाइफाइड भए/नभएको यकिन गर्न ‘भिडाल’ परीक्षण गराउने गरेको उल्लेख गर्दै डा.शर्मा भन्छन्, ‘दुई/तीन दिन ज्वरो आएपछि मात्र रगत परीक्षण गराउनु उपयुक्त हुन्छ ।’ कुनै-कुनै प्रयोगशालाले एक दिनको ज्वरोमा समेत भिडाल परीक्षण पोजेटिभ देखाउने गरेको समेत उनले जनाए ।
‘यस पटक देखिएको ज्वरो सुरुमा टाइफाइडजस्तो लाग्छ तर यो भाइरल ज्वरो नै हो,’ डा.शर्माले भने, ‘अन्य कुनै कडा लक्षण नदेखिए ज्वरो भएको दुई/तीन दिनसम्म सिटामोल र एन्टिएलर्जिक औषधि उपयोग गर्न सकिन्छ, यदि निको हुने छाँट नदेखिए चिकित्सकसँग सल्लाह लिनुपर्छ ।’
धेरैजसो भाइरल ज्वरो प्रभावितहरूले आफैं औषधि पसलेको सल्लाहमा एन्टिबायोटिक औषधि खाने गरेको जनाउँदै डा.साह भन्छन्, ‘भाइरल ज्वरोमा चिकित्सकको सल्लाह लिएर मात्र औषधि सेवन गर्नुपर्छ । आफैं वा पसलको सल्लाहमा एन्टिबायोटिक औषधि सेवन गर्नाले पछि एन्टिबायोटिक प्रतिरोधिताको समस्यासँग जुध्नुपर्नेछ ।’
चिकित्सकका अनुसार मौसम परिवर्तनले भाइरल ज्वरो ल्याउने गरेको छ । भाइरल ज्वरोको संक्रमण चाँडै फैलिन सक्छ । नाकबाट सिँगान बग्नु, घाँटी दुख्नु जस्ता लक्षण देखिन्छन् । चिकित्सकले परीक्षण गरेर मात्र रोग निको पार्न सक्छन् । पश्चिमी मुलुकमा जस्तो सेरोलोजिकल परीक्षण नहुने भएकाले यहाँ भाइरसको गम्भीरता थाहा पाइँदैन । ज्वरो जुनसुकै उमेरका व्यक्तिलाई लाग्न सक्छ र यसको लक्षणका आधारमा उपचार गरिन्छ । धेरैजसो भाइरल संक्रमण दूषित हावा, पानी र खानाका माध्यमले वा सीधा सम्पर्कले हुन्छ ।
चिकित्सकहरूका अनुसार संक्रमितसँगको सम्पर्कबाट रोग सर्ने सम्भावना चारदेखि पाँचगुणा बढी हुन्छ ।
भिडभाड भएको ठाउँमा संक्रमण अझ चाँडो फैलिन्छ । यसमा सिटामोललगायत एन्टिपाइरेटिक औषधि दिइन्छ । संक्रमितले प्रशस्त झोल पदार्थ खानाले फाइदा हुन्छ । पानीपट्टी लगाएर ज्वरो घटाउनुपर्छ, र आराम गर्नुपर्छ । भाइरल संक्रमणबाट वाच्न स्वस्थकर भोजनसँगै संक्रमित व्यक्तिको सम्पर्कबाट टाढै रहनुपर्छ । रोगी निको नभएसम्म कार्यालय वा स्कुल जानुहुन्न । आराम हुन पाँचदेखि सात दिन लाग्ने गरेको छ । जटिलता देखिए तुरुन्त स्वास्थ्य निकायमा सम्पर्क गर्नुपर्छ ।