गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको स्वास्थ्यस्थिति चिन्ताजनक

ramraja singhकाठमाडौ  – गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको स्वास्थ्यस्थिति चिन्ताजनक छ । चिकित्सकहरूले ७७ वर्षीय सिंहलाई मंगलबार दिउँसो साढे तीन बजेदेखि कृत्रिम श्वासप्रश्वास यन्त्र (भेन्टिलेटर) मा राखेका छन् ।


विभिन्न शारीरिक समस्या देखिएपछि दस दिनअघि सिंहलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । ‘मुटु र फोक्सोको समस्याले गर्दा उहाँलाई भेन्टिलेटरमा राख्नुपरेको हो,’ अस्पतालका निर्देशक डा.केपी सिंहले भने । डा. सिंहका अनुसार हाल उनको स्वास्थ्यस्थिति चिन्ताजनक छ ।


सिंहलाई थुप्रै शारीरिक समस्या रहेको चिकित्सकको भनाइ छ । सिंहलाई ओछ्याउनाको घाउ (बेड सोर) समेत भएको छ । यो घाउ अस्पताल भर्ना हुनुभन्दा अगावै भएको थियो । उच्च रक्तचापका रोगी सिंहलाई केही वर्षयता पार्किन्सन रोगसमेत रहेको जनाउँदै नयाँ समस्या विकसित भएकाले थप जटिलता थपिएको डा. सिंहले बताए । सिंहमा गोडा नचल्ने र पिसाब बन्द हुने समस्यासमेत देखिएको छ ।

 

– RSS