पाकिस्तानको कराँचीस्थित एक गार्मेन्ट कारखानामा भएको भीषण आगलागीमापरी मर्नेको संख्या २ सय ४६ नाघेको छ । मंगलबार राति भएको आगलागीमापरी थुप्रै घाइते भएका छन् । घाईते हुनेहरुमा आगलागी भएको कारखानाबाट बच्न हामफालेकाहरु पनि रहेको बताइएको छ ।
आगलागी नियन्त्रणका लागि करिब ४० दमकल प्रयोग गरिएको स्थानीय अधिकारीहरुले जनाएका छन् । उता कराँचीको गार्मेन्ट कारखानामा आगलागी हुनु एक घण्टा अघि लाहोरस्थित एक जुत्ता कारखानामा भएको आगलागीमा २३ जनाको मृत्यु भएको छ ।
आगलागीमा परी कैयौं घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । जुत्ता कारखानामा बिजुली आपूर्ती बन्द भएपछि जेनेरेटर चलाउने क्रममा आगलागी भएको बताइएको छ ।