नेपालगञ्ज – नेपालको एक दैनिक पत्रीका नागरिकले आफ्नो अन्लाईनमा प्रकासित समाचार अनुसार प्रधानमन्त्री बाबुराम भट्टराई सहित उच्च सरकारी अधिकारी लिएर उडेको हेलिकोप्टर बाँकेको कचनापुर-५ स्थित राप्ती नदी किनारमा आकस्मिक अवतरण गरेको छ। जुम्लाका लागि उडेको हेलिकोप्टर मौसमको खराबीका कारण आकस्मिक अवतरण गरिएको हो।
प्रकासित समाचार अनुसार काठमाडौंबाट पाल्पा हुँदै जुम्लातर्फ जानु पर्ने हेलिकोप्टर मौसमको खराबीका कारण भैरहवा-तुल्सीपुर-सल्यानतिर डाइभर्ट भएको थियो। तर त्यो रुटमा पनि मौसम खराब भएपछि चालकले हेलिकोप्टर राप्ती किनारमा अवतरण गराएका हुन्।
हरेक महिना जनताको घरमा बस्ने योजना अन्तर्गत प्रधानमन्त्री भट्टराई आफ्नो टोली सहित जुम्लातर्फ जाँदै थिए। प्रधानमन्त्री आज राति तातोपानी गाविस -१ राँका गाउँका मानसिंह सार्कीको घरमा बस्ने कार्यक्रम थियो। हेलिकोप्टरको आकस्मिक अवतरण भएपछि प्रधानमन्त्रीको जुम्ला भ्रमण अनिश्चित बनेको छ।
‘अब हामी नेपालगञ्ज फर्किंदैछौं’, टोलीमा रहेका पत्रकार मनऋषि धितालले भने- ‘त्यसपछि मौसम हेरेर जाने नजाने तय हुन्छ।’