नेपालमा ३५ प्रतिशत बालबालिका मात्र स्वास्थ्य सेवा प्राप्त हुने ठाउँमा जन्मिने तथ्यांक सार्वजनिक

काठमाडौं – नेपालमा ३५ प्रतिशत बालबालिका मात्र स्वास्थ्य सेवा प्राप्त हुने ठाउँमा जन्मिने गरेको पाइएको छ । सरकारले बालदिवसका अवसरमा सार्वजनिक गरेको ‘नेपाली बालबालिकाको स्थिति २०६९’ पुस्तकले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

 

पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा कमी आएको तथा सन् २०११ मा शिशु मृत्युदर ४६ र पाँच वर्ष मुनिको बालमृत्युदर ५४ मा झरेको उल्लेख छ । कुपोषणका कारण पाँच वर्ष मुनिका ४१ प्रतिशत बालबालिका पुड्का छन् भने उचाइ अनुसारको तौल नपुगेका ‘ख्याउटे’ बालबालिका ११ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । ‘०६७/६८ मा बीसीजी खोप ९७ प्रतिशत, पोलियो खोप ९५ प्रतिशत, डीपीटी, हेपाटाइटिस बी ९६ र दादुरा खोप ८८ प्रतिशत लक्षित बालबालिकाले प्राप्त गरेका छन् । ‘गर्भवती महिलामध्ये ४१ प्रतिशतले टीटी खोप पाएका छन्,’ पुस्तकमा उल्लेख छ ।

 

यसवर्ष प्राथमिक तहमा ९५ प्रतिशत र निम्न माध्यमिक तहमा ७० प्रतिशत बालबालिका भर्ना भएका छन् । पाँचदेखि १७ वर्ष उमेर समूहको जनसंख्या ७७ लाख ७० हजारमध्ये ३१ लाख ४० हजार बालबालिका रोजगारीमा संलग्न भएको पाइएको छ । बालदिवसका अवसरमा बोल्दै शिक्षामन्त्री दीनानाथ शर्माले बालबालिकाले पढ्न पाउने अधिकारबाट वञ्चित नगराउन राज्यले पहल गर्नुपर्ने बताए । ‘बाल अधिकार राज्यको प्रमुख दायित्व हो, राज्यलाई दायित्व पूरा गराउन नागरिक समाज, अधिकारकर्मी सबैले सहयोग गर्नुपर्छ,’ उनले भने ।

 

– RSS