आकर्षक मानिएको बेलायती र सिंगापुर पुलिसमा (लाहुरे) भर्ती हुन चाहने युवाको संख्या बर्सेनि घट्दै

शिव शर्मा

 

कास्की  – आकर्षक मानिएको बेलायती र सिंगापुर पुलिसमा (लाहुरे) भर्ती हुन चाहने युवाको संख्या बर्सेनि घट्दै गएको छ । भर्ती खुलेपछि पूर्वतयारीका लागि प्रशिक्षण लिन रंगशालामा अधिक संख्यामा देखिने युवा ह्वात्तै घटेका हुन् । भर्तीका लागि असहजसँगै बेलायत सरकारले गरेको कटौतीले पोखरा रंगशालामा प्रशिक्षणका लागि हानथाप गर्ने युवा कमी देखिन थालेको छ ।

 

अघिल्लो वर्ष पश्चिमाञ्चल क्षेत्रमा बि्रटिस क्याम्प पोखरामा बेलायती तथा सिंगापुर पुलिसमा भर्तीका लागि ६ हजारले निवदेन दिएकोमा यसपटक संख्या घटेर चार हजार भएको ११ वर्षदेखि पोखरामा लाहुरे प्रशिक्षण दिँदै आएका रमेश भट्टचनले जनाए । उनका अनुसार पूर्व र पश्चिमबाट अघिल्लो वर्ष बेलायती तथा सिंगापुर पुलिसमा २ सय ३६ भर्तीका लागि छनोट गरिएकोमा यस वर्ष १ सय २६ मात्रै लिइनेछ ।

 

बर्सेनि भर्ती हुने कोटा घट्दै जानु र यसमा निकै कठिन बन्दै गएपछि युवाको आकर्षण पनि घट्दै गएको हो ।

 

पोखरा रंगशालमा केही वर्षअघिसम्म बेलायत तथा सिंगापुर पुलिसमा भर्ती हुन चाहनेको ताँतीले शारीरिक कसरतका लागि ठाउँ पाउनै मुस्किल हुन्थ्यो । लाहुरे प्रशिक्षण लिने युवाको ‘क्रेज’ अहिले भने त्यस्तो देखिँदैन ।

 

६ हजारभन्दा बढी युवा प्रशिक्षणका लागि व्यस्त हुने रंगशालामा अहिले २ हजार पनि हम्मे हुने प्रशिक्षक बताउँछन् । १९ भन्दा बढी लाहुरे प्रशिक्षण संस्थामा अहिले २ हजार पनि मुस्किल छ,’ भट्टचनले भने । आठ वर्षदेखि लोट्स टे्रनिङ सञ्चालन गरेर युवालाई लाहुरे प्रशिक्षण दिँदै आएका पूर्व सिंगापुर आर्मी यामबहादुर गुरुङ बर्सेनि भर्ती हुन चाहनेको संख्या घट्दै गएको बताए । २ सय ५० युवालाई लाहुरे प्रशिक्षण दिँदै आएका गुरुङले अहिले प्रशिक्षण लिन आउने युवा मुस्किलले ६० जना रहेको बताए ।

 

‘बेलायत सरकारले कटौती गर्नु र भारतीय सेनामा वर्षमा २ पटक खुल्ने भर्तीले सजिलो भएपछि भारतीय सेनामा आकर्षण बढेको हो,’ गुरुङले भने ।