प्रधानमन्त्री भट्टराईसहित उच्च सरकारी अधिकारी लिएर उडेको हेलिकप्टरले फेरि पनि आपतकालीन अवतरण

काठमाडौँ –  नेपालको एक दैनिक पत्रीका नागरिकले प्रकासित समाचार अनुसार प्रधानमन्त्री बाबुराम भट्टराईसहित उच्च सरकारी अधिकारी लिएर उडेको हेलिकप्टरले आज दोस्रो पटक पनि आपतकालीन अवतरण गरेको छ।

 

समाचार अनुसार जुम्लाबाट कालिकोट उडेको उनी सवार हेलिकप्टर मौसम खराब भएपछि बिहान १० बजेतिर सुर्खेतमा आपतकालीन अवतरण गर्न बाध्य भएको हो। 

 

यसअघि उनी सवार हेलिकप्टर हिजो पनि बाँकेको कचनापुर-५ स्थित राप्ती नदी किनारमा आकस्मिक अवतरण गरेको थियो। जुम्लाका लागि उडेको हेलिकप्टर हिजो पनि मौसमको खराबीका कारण आकस्मिक अवतरण गर्नुपरेको थियो। मौसम राम्रो भएपछि हिजै टोली पुनः जुम्लातर्फ लागेको थियो।

महिनाको अन्त्यमा जनताको घरमा एक रात बस्ने कार्यक्रम अन्तर्गत जुम्लाको दलित बस्तीमा बस्न शनिबार प्रधानमन्त्रीसहितको टोली जुम्ला पुगेको थियो।