सरकारले गरिब घरपरिवार पहिचान गरि परिचयपत्र वितरणको अभियान आजबाट सुरु गर्दैछ । सरकारले तोकेको दैनिक उपभोग्य खाद्यबस्तुको मूल्य पनि आजबाट लागु हुने भएको छ ।
पहिलो चरणमा २५ जिल्लाबाट लागू गरि क्रमैसँग देशभर यो अभियान पुर्याउने लक्ष्य लिएको छ । यो परिचयप्रत्र प्राप्त परिवारलाई हाल पाइरहेको र भविष्यमा पाउने सुविधामार्फत मूल प्रवाहमा ल्याउन सजिलो हुने सरकारको विश्वास छ । मन्त्रिपरिषद्को गत भदौ १८ गतेको बैठकले गरिब घर परिवार पहिचान गरी त्यस्ता परिवारलाई परिचय वितरण गर्न निर्देशिका जारी गर्ने निर्णय गरेको थियो ।
त्यसका लागि सरकारले गरिबी निवारण कोषका उपाध्यक्षको संयोजकत्वमा एक समिति समिति गठन गरेको छ । यसैबीच प्रधानमन्त्री डाक्टर बाबुराम भटट्राईले एक सन्देश जारी गर्दै गरिब परिचयपत्रमार्फत स्वाथ्य शिक्षा , कृषि, बाणिज्य, आपूर्ति तथा अन्य सार्वजनिक सुविधा उपलव्ध गराइने उल्लेख गर्नुभएको छ ।
सन्देशमा प्रधानमन्त्रीले राजनीतिक दल तिनका भातृ संगठन, नागरिक समाज, निजी क्षेत्र, पत्रकार जगत, शिक्षक विद्यार्थी तथा आम नागरिकलाई अभियानमा सघाउन आग्रह गर्नुभएको छ ।
यसैबिच उपभोग्यबस्तुको मूल्यसूचि आजबाट लागु हुँदै….
सरकारले तोकेको दैनिक उपभोग्य खाद्यबस्तुको मूल्य आजबाट लागु हुने भएको छ । उद्योग बाणिज्य विभागले जारी गरेको मूल्यसूचि भन्दा महंगोमा खाद्य बस्तु बेच्नेलाई कारवाही गरिने चेतावनी दिएको छ । सरकारले महङ्गी बढेको भन्दै व्यवसायीहरुको समन्वयमा वाणिर्ज्य तथा आपूर्ति मन्त्रालयले चामल, दाल, गेडागुडीको, पिठोको गत विहीबार खुद्रा मूल्य निर्धारण गरेको थियो ।
अनुगमनको प्रक्रिया शुक्रबार बाटै सुरु भएपनि कानुनी प्रक्रियाले आजबाट मात्रै लागु भएको बाणिज्य विभागका महानिर्देशक नारायण विडारीले जानकारी दिनुभयो ।