– उमाकान्त पाण्डे गाउंले
बुटवल । रुपन्देहीस्थित सीमावर्ती भारतीय बजार नौतनवा तथा सुनौलीका पेट्रोल पम्पबाट पोट्रालियम पदार्थ खरिद गरी रुपन्देहीको विभिन्न पेट्रोल पम्पहरुमा तस्करहरुले तेल बेच्ने गरेको रहस्य खुलेको छ । नेपालको दोस्रो ठूलो भन्सार नाका बेलहिया भन्सार नाकाबाट खुलेआम यसरी तेल तस्करी भइरहदा पनि संवन्धित निकाय चांहि मौन देखिएको छ ।
शक्रवार भारतीय सरकारले तेलको मूल्य बढाउनु भन्दा अगाडि प्रतिलिटर २३ रुपैयां नेपाली बजार भन्दा भारतीय बजारमा तेल सस्तो पर्दथ्यो । अहिले भारतीय बजार भन्दा नेपाली बजारमा तेलको मूल्य प्रति लिटर १४ रुपैयांं ४० पैसा महंगो पर्ने गर्दछ ।
अहिले सुनौली नाकाबाट तेलको कारोबारमा एउटा गिरोह नै लागेको समाचारस्रोतको दाबी छ । तेलमा फाइदा हुने भएपछि संरचनागत समुह बनाएर गिरोहले तेलको अबैध कारोबार गरिरहेको छ । स्रोतका अनुसार दैनिक झण्डै १७ वटा ट्रकहरुले यस्तो कारोबार गरेको पाइन्छ ।
एउटा ट्रकले एउटा टंकी राखेर कारोबार गर्दा एक पटमा ३०० लिटर र दुईवटा टंकी राखेर कारोबार गर्दा ६०० लिटर ल्याउने गर्दछ । यसरी ६०० लिटर ल्याउदा कम्तिमा ८ हजार ४ सय रुपैया एक पटकमा फाइदा हुने भएपछि तेलको अबैध कारोबार फस्टाएको हो ।
खाली ट्रकहरु भारतीय बजार नौतनवा र सुनौलीका पेट्रोल पम्पमा गएर तेल भरेर ल्याउने गर्दछन् । त्यो तेल सीमावर्ती नेपाली बजार भैरहवा, बसन्तपुर तथा लुम्बिनीरोड र बुटवलमा अवस्थित विभिन्न पेट्रोल पम्पमा विक्री गर्ने गरेका छन् ।
यो अबैध कारोबार केहि महिना पहिले पनि थियो तर रुपन्देहीका तत्कालिन एसपी रविन्द्रनाथ रेग्मीले कडाइ गरेपछि तस्करी रोकिएको थियो । तर झण्डै डेढ महिनासम्म रुपन्देही प्रहरी प्रमुख नभएको समयमा यो कारोबार फस्टाउन पुगेको स्रोतले बताउंछ । अहिले रुपन्देहीमा नया प्रहरी प्रमुखका रुपमा हरिबहादुर पाल आएता पनि उहांको नजर यसमा पुग्न सकेको छैन ।
सीमा क्षेत्रबाट खुलेआम भइरहेको तेल तस्करीको सम्बन्धमा इलाका प्रहरी कार्यलय बेलहियाले पनि खासै कडाइका साथ काम काम गर्न सकेको छैन । त्यस्ता खाली ट्रकहरुलाई कहिलेकाहि समातेर चेतावनी दिएता पनि प्रहरीले थाहा पाउंदा पाउंदै कारवाही गर्न नसक्नुमा प्रहरीको मिलोमतो भएको हुन सक्ने आशंका छ । यस सम्बन्धमा इप्रका बेलहियाका प्रहरी निरीक्षक लिला लामीछानेले भन्नुभयो, “अनुसन्धान भइरहेको छ, केही ट्रकलाई समातेर चेतावनी समेत दिइएको छ ।”
तस्करहरुले नेपालबाट जांदा ट्रकको तेल टंकी खाली बनाएर लैजाने र भारतबाट र्फकदा भरिभराउ गरेर आउने गर्दछन् । ती ट्रकहरुमध्ये केहीले दुई वटा टंकी राखेको पाइएको छ । भैरहवाबाट खाली भारत जाने र खाली नै नेपाल र्फकने गरेका ती ट्रकले सवारी आगमनमा समेत अप्ठ्यारो पारेका छन् । विना कामै रित्तै भारतीय बजारमा ट्रक आउने जाने गरिरहंदा पनि भन्सारनाकामा बस्ने कर्मचारी, सुरक्षा निकाय मौन देखिएको छ । दिनमै दर्ुइ तीन पटक एउटा ट्रक नेपाल भारत ओहोर दोहोर गर्दा पनि प्रहरी भने मुकदर्शक बनिरहनुमा आशंका उब्जीएको सरोकारवालाहरु बताउंछन् ।
यसबारेको जिज्ञासामा सम्बन्धमा रुपन्देहीका सुरक्षा प्रमुख समेत रहेका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले जनपद प्रहरी र शसस्त्र प्रहरीलाई कडाइ गर्न निर्देशन दिइसकेको बताउनुभयो । उहांले भन्नुभयो, “मैले जनपद र शसस्त्र प्रहरीलाई निर्देशन दिइसकेकोछु, यसमा कसैको संलग्नता पाइमा कडा कारबाही हुनेछ । “