काठमाडौं । सरकारले आजदेखि गरीब घरपरिवार पहिचान गरि परिचयपत्र वितरण अभियान सुरु गर्दैछ । पहिलो चरणमा २५ जिल्लाबाट लागू गरि क्रमैसँग देशभर यो अभियान पु-याइने छ । परिचयपत्र प्राप्त परिवारलाई हाल पाइरहेको र भविष्यमा पाउने सुविधामार्फत मूल प्रवाहमा ल्याउन सजिलो हुने सरकारी विश्वास छ । गत भदौ १८ गतेको मन्त्रिपरिषद बैठकले गरीब घर परिवार पहिचान गरी त्यस्ता परिवारलाई परिचय वितरण गर्न निर्देशिका जारी गर्ने निर्णय गरेको थियो । त्यसका लागि सरकारले गरीबी निवारण कोषका उपाध्यक्षको संयोजकत्वमा समितिसमेत बनाएको छ ।
यसैसन्दर्भमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको सन्देशमा गरीब परिचयपत्र भएकालाई स्वाथ्य शिक्षा, कृषि, बाणिज्य, आपूर्ति तथा अन्य सार्वजनिक सुविधा उपलव्ध गराइने उल्लेख गर्नुभएको छ । सन्देशमा प्रधानमन्त्रीले राजनीतिक दल तिनका भ्रातृ संगठन, नागरिक समाज, निजी क्षेत्र, पत्रकार जगत, शिक्षक विद्यार्थी तथा आमनागरिकलाई अभियानमा सघाउन आग्रह गर्नुभएको छ । RSS