लामो विवादपछि पाकिस्तान सरकारले राष्ट्रपति आसिफ अली जर्दारीको भ्रष्टाचार सम्बन्धी मुद्दाको विषयमा स्वीस अधिकारीलाई पत्र लेख्न सहमति जनाएको छ ।
पाकिस्तानी प्रधानमन्त्री राजा परवेज अशरफ कियानीले आज सर्वोच्च अदालतमा अदालतको अवमुल्यन गरेको विषयमा भएको सुनुवाईका क्रममा यस्तो सहमति जनाउनु भएको हो । उहाँले स्वीस अधिकारीलाई पत्र लेख्न कानुन मन्त्रालयलाई अधिकार दिएको बताउनु भएको छ । तर स्वीस अधिकारीलाई लेखिने पत्रमा भने अदालत सन्तुष्ट हुनु जरुरी रहेकाले मस्यौदा अदालतमा देखाउनु पर्नेछ । अदालतले पत्र तयार पार्न प्रधानमन्त्रीलाई २५ सेप्टम्बरसम्मको समय दिएको छ ।
पाकिस्तान सरकारले लामो समयसम्म यस विषयमा स्वीस अधिकारीलाई पत्र लेख्न अस्वीकार गरेपछि त्यहाँं कार्यपालिका र न्यायपालिकाबीच टकरावको स्थिति बनेको थियो । यही मामिलामा अदालतले अयोग्य ठहर गरेपछि तत्कालिन प्रधानमन्त्री युसुफरजा गिलानी पद छोड्न बाध्य हुनुभएको थियो ।
गिलानीपछि पाकिस्तानको प्रधानमन्त्री बन्नु भएका अशरफले पनि शुरुमा अदालतको आदेशलाई स्वीकार गर्नु भएको थिएन । बहालवाला राष्ट्रपतिविरुद्ध कुनै मुद्दा चलाउन नसकिने भन्दै प्रधानमन्त्री कियानीले अदालतको आदेश टार्दै आउनु भएको थियो । पाकिस्तानमा बेनेजीर भुट्टो प्रधानमन्त्री भएका बेला उहाँका पति वर्तमान राष्ट्रपति जर्दारीले एक स्वीस कम्पनीलाई अनियमित ढंगबाट ठेक्का मिलाइदिएर अनियमितता गरेको आरोप छ ।
– एजेन्सी