मंगलबार तीज पर्वको अवसरमा जताततै महिलाहरूको पूजा आजासँगै नाचगानका लागि गरिएको तयारी समेत लगातारको वर्षाले प्रभावित भएको छ । महिलाहरूलाई पूजाका लागि मन्दिर पुग्न समेत समस्या भएको छ । बजार सुनसान हुन पुगेको छ । ग्रामीण भेगबाट बजारक्षेत्रमा किनमेलका लागि आउने क्रम समेत ठप्प भएको छ ।
अविरल वर्षासँगै महाकाली नदीको वहाव बढेपछि सोमबार दिउँसोदेखि सीमाक्षेत्रका बनवासा पुलमा सार्वजनिक यातायातको साधन चल्न बन्द गरिएको छ । पुलमा टांगा समेत चल्न रोक लगाइएपछि भारतका विभिन्न ठाउँबाट चाडपर्व मनाउन घर फर्कने र भारत तर्फ उपचार र अन्य कामका लागि जानेहरू समस्यामा परेका छन् । ‘हिजो सोमबार महाकालीको बहाव १ लाख ७६ हजार क्युसेक पुगेको थियो’ इलाका प्रहरी कार्यालय गड्डाचौकीका सई नेत्रप्रसाद भट्टले भने, ‘आज मंगलबार बिहान पानीको बहाव केही घटे पनि दिउँसोदेखि पुनः बढ्दै गएपछि पुल खुल्ने सम्भावना कम भएको छ ।’
यतिवेलाको वर्षासँगै कञ्चनपुरका महाकाली, दोदा, वनहारा, जोगबुढा लगायतका नदीमा आएको बाढी ले नदी किनारको क्षेत्र कटान हुन थालेपछि आसपासका बस्तीमा बाढी पस्ने खतरा उत्पन्न भएको छ । महाकालीको भारतीय क्षेत्रमा कटान हुन थाले पनि नेपाल तर्फको भूजेला क्षेत्रमा अझै कटान नभएको सई भट्टले बताए ।
जिल्लाको दक्षिणी भेगमा पर्ने देखतभुली र शंकरपुर गाविसका कतिपय बस्ती दोदा नदीमा आएको बाढी ले धमाधम कटान हुन थालेको छ । ‘दोदाको बाढी ले कटान गरेर २/३ दिन मा मात्रै १०/१२ बिघा धान तथा उखुवाली लगाएको खेत बगाइ सक्यो’ शंकरपुर ३ कञ्ज गाउँका निर्मल रानाथारुले बताए । उनका अनुसार दोदाको बाढी को कटान बाट शंकरपुरको कञ्ज, डुंगा र पर्सियामा निकै क्षति भएको छ । ‘गाउँमा दोदा पस्ने खतरा उत्पन्न भइसक्यो’ निर्मलले बताए ।
यसैबीच जिल्ला प्रशासन कार्यालयमा अविरल वर्षासँगै जिल्लाका विभिन्न नदीनालामा आएको बाढी को अवस्था बारे छलफल गर्न मंगलबार जिल्लाका सुरक्षा तथा प्रशासनिक निकायका प्रमुखहरूको बैठक भइरहेको छ । प्रशासकीय अधिकृत केशवदत्त जोशीका अनुसार बाढी को अवस्थालाई मध्यनजर गरी सुरक्षा निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखिएको छ । ‘अहिलेसम्म जनधनको क्षति भएको उल्लेखनीय घटना नभए पनि भीषण वर्षाका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गरी सेना, सशस्त्र र नेपाल प्रहरीलाई उच्च सतर्कताका साथ तयार रहन निर्देशन दिइएको जोशीले बताए ।
पश्चिमतराईमा भदौ २४ देखि फाट्ट फुट्ट रूपमा पछिल्लो चरणको मनसुनी वर्षा सुरु भएको हो । कैलालीको अत्तरिया स्थित मौसम तथा जलवायु विज्ञान कार्यालयका अनुसार भदौ २८ बिहीबारदेखि लगातार अविरल वर्षा भइरहेको छ । ‘भदौ २९ मा यो वर्षकै सर्वाधिक वर्षा भयो’ मौसम विज्ञान कार्यालयका प्रमुख राजीव झाले भने, ‘उक्त दिन ९ घण्टामा ८८ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।