१० वा १४ प्रदेशमा सहमति नभए नयाँ निर्वाचन जाने सत्तारुढ दलको निष्कर्ष

बुधबारसम्म संविधानसभा पुनःस्थापनामा सहमति जुटाउने निर्णय गरेका दलहरुको आन्तरिक छलफलमा आआफ्नै अडान तेर्सिएको छ । आज बिहान बसेको सत्तारुढ एमाओवादी र मधेशी मोर्चाको बैठकले १० वा १४ प्रदेशको संघीय स्वरुपमा सहमति नभए निर्वाचनमा जाने सहमति गरेका छन् । 

दुवै राजनीतिक शक्तिले त्यही अनुसारको प्रस्ताव चार दलको बैठकमा लाने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सहमति नभए राष्ट्रपतिबाट बाधा अडकाउ फुकाएर निर्वाचनमा जानुपर्नेमा जोड दिएको छ ।


बैठकपछि मधेसी मोर्चाका नेता तमलोपा अध्यक्ष महन्थ ठाकुरले १० वा १४ प्रदेश बाहेकमा सहमति हुन नसक्ने बताउँदै त्यसो हुन नसके निर्वाचनमा जानु उत्तम हुने उल्लेख गर्नुभयो ।


त्यसै गरी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले अन्य दल पनि १० वा १४ प्रदेशमा सहमत भए संविधानसभा पुनःस्थापना गर्ने नभए बाधा अडकाउ फुकाएर निर्वाचनमा जाने प्रस्ताव चार दलको बैठकमा लगिने जानकारी दिनुभयो ।


यसअघि राज्य पुनःसंरचना समितिले १४ र आयोगले १० प्रदेशको प्रस्ताव गरेकोमा ती दुईमध्ये एकलाई टेक्नुपर्ने मधेशी मोर्चाले संविधानसभा विघटन अगाडिदेखि अडान लिंदै आएको छ । माओवादी त्यसमा सहमत देखिए पनि कांग्रेस र एमाले सहमत छैन ।


यसैबीच, कांग्रेस सभापति सुशील कोइरालाको निवासमा बसेको पार्टीको अनौपचारिक बैठकले पनि सहमति हुने सम्भावना क्षिण हुँदै गएकाले निर्वाचनमै जानुपर्नेमा जोड दिएको समाचार छ ।