पांच हजार भन्दा बढी १४ वर्ष मुनिका बालबालिका काठमाडौंका साना होटल, रेष्टुरां र चिया पसलमा कार्यरत रहेको सर्वेक्षण सार्वजनिक

काठमाडौं  । नेपालमा बालश्रम कानुनी रुपमै वञ्चित भएपनि हाल पांच हजार भन्दा बढी १४ वर्ष मुनिका बालबालिका काठमाडौं उपत्यकाका साना होटल, रेष्टुरां र चिया पसलमा कार्यरत रहेको एक सर्वेक्षणले देखाएको छ ।

 

सिविनले आज राजधानीमा सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनले उपत्यकाका होटल तथा रेष्टुरांमा ९५ प्रतिशत कामदार बालबालिका रहेको जनाएको हो ।

 

प्रतिवेदनका अनुसार ६४ प्रतिशत बालबालिका जनजाती समुदाय र २० प्रतिशत बाहुन र क्षेत्री समुदायका रहेका छन् ।
 
यसरी श्रम गर्न आएका बालश्रमिक मध्ये ७१ प्रतिशत खान पुग्ने घरपरिवारबाट आएको पनि बताइएको छ । २४ प्रतिशत बालबालिकालाई परिवारले नै काममा राखिदिएको सर्वेक्षणबाट देखिएको छ ।

 

१५ घण्टा भन्दा बढी काममा खटिने यस्ता बालबालिकाले मासिक दुई हजार रुपैयां कमाउने र अधिकांश मानसिक तनावमा रहने गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

 

रेष्टुरां तथा चिया पसलमा काम गर्ने ८४ प्रतिशत बालबालिका विद्यालयको पहुंचबाट टाढा रहेको र ६० प्रतिशत बालश्रमिकले आफ्नै साहु, ग्राहक र साथीहरुबाट शाररिक मानसिक यातना झेल्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

 

– RSS