अनेकौ धम्कीका बिच पुर्व राजा ज्ञानेन्द्र शाह पोखरामा

लालप्रसाद शर्मा

 

पोखरा – गण्डकी र धौलागिरीका विभिन्न शक्तिपिठको दर्शन तथा शुभेच्छुकसंग भेटघाटकालागि पुर्व राजा ज्ञानेन्द्र शाह आज (बिहीबार)पोखरा आउँदैछन । भ्रमणलाई नितान्त धार्मिक भनिएको छ ।

पोखरामा गठित स्वागत समितिका अनुसार भोलि दिउँसो २ देखि सवा २ बजेसम्म ज्ञानेन्द्र पोखरा आईपुग्नेछन । मौसम खराबी नभए जहाज र खराब मौसम भएमा २ बजे पोखरा आईपुग्ने गरी गाडीमार्फ आउने कार्यक्रम तय भएको समितिका प्रचार संयोजक अर्जुन बस्नेतले बताए । ज्ञानेन्द्रको स्वागतकालागि पुर्व राजपरिषद् सदस्य गणेशबहादुर गुरुङको संयोजकत्वमा १ हजार २ सय ८० सदस्यीय समिति गठन गरिएको छ ।


बस्नेतका अनुसार ज्ञानेन्द्र शाह भोलि यहाँको फेवातालपारीको फिस्टेल लजमा बस्नेछन । पोखरा बिमानस्थलदेखि फिस्टेल गेटसम्म शुभेच्छुकहरु स्वागतकालागि बस्नेछन । शुक्रबार ज्ञानेन्द्र म्याग्दी गएर बेनीबजारस्थित ४ सय बर्ष पुरानो भर्तिकलबम शिवालय र गलेश्वर मन्दिरको दर्शन गर्ने योजना छ । उक्त दिन शाह म्याग्दीमै बस्नेछन् ।


त्यसैगरी शनिवार बागलुङ सदरमुकामको कालिका मन्दिर र सोही दिन पर्वत सदरमुकामको गायत्रीमाता मन्दिरको दर्शन गर्दै पोखरा फर्किने कार्यक्रम रहेको समितिले जनाएको छ  । त्यस्तै ७ गते आईतबार स्याङजाको गुठीखोलास्थित धनुशेश्वर महादेव मन्दिर, सोमबार तनहुँ दमौलीको पंचमन्दिरको दर्शन गर्नेछन । ९ गते बिहान ९ बजेको समयमा पोखराको बिन्ध्यावासिनी मन्दिरमा पुजाकालागि नालाको मुखबाट पैदलै यात्रा गर्ने समितिले जनाएको छ । १० गते पोखरामा रहेका केही बौद्ध गुम्बाकोसमेत दर्शन गरी ११ गते काठमाण्डौ फर्किने कार्यक्रम रहेको समिति सहसंयोजक केशव भण्डारीले बताए ।


संयोजकलाई धम्की


यसैबीच ज्ञानेन्द्र शाहको स्वागत समितिका संयोजक गणेशबहादुर गुरुङलाई तमुधिँ र तमुवान् युथ भोलेन्टियर्ससम्बद्ध ब्यक्तिले उक्त जिम्मेवारी नसम्हाल्न दवाव दिएका छन । पुर्व राजालाई सघाएर धर्म निरपेक्षता, संघियता तथा तमुजातिको आन्दोलनप्रति उत्रिएर अपमान गरेको भन्दै उनलाई हट्न दवाव दिएका हुन् । तर गुरुङले भने आफ्नो बिचार र दृष्टिकोणलाई कसैको दवावले नछाड्ने बताए ।

 

यही कारण २८ बर्षदेखि तमुधिँ नेपालको सल्लाहकार प्रमुख रहदै आएका गुरुङले उक्त पदबाट राजीनामा दिएका छन् । आफ्ना कारणले संस्थालाई अप्ठेरो पर्ने भए पदमा नबस्ने भन्दै उनले राजीनामा दिएका थिए ।