शान्ति मन्त्री टोपबहादुर रायमाझीद्धारा शान्ति प्रक्रियाको महत्वपूर्ण पक्ष सेना समायोजन अन्तिम चरणमा पुगेको उल्लेख


 

काठमाडौँ – शान्ति तथा पुनःनिर्माणमन्त्री टोपबहादुर रायमाझीले शान्ति प्रक्रियाको महत्वपूर्ण पक्ष सेना समायोजन अन्तिम चरणमा पुगेको बताएका छन्। अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा शान्ति तथा पुनःनिर्माण मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई उनले विशेष समितिले निर्णय गरेपछि छिट्टै शिविर खाली हुने बताए।


मन्त्री रायमाझीले दिगो शान्तिका लागि राजनीतिक स्थिरता चाहिनेमा जोड दिँदै परिवर्तित राजनीतिक व्यवस्थालाई संस्थागत गरी आर्थिक समृद्धि कायम गर्न सकिने उल्लेख गरे।

उनले मुलुकलाई राजनीतिक निकास दिनका लागि दलहरुका बीचमा सहमतिको वातावरण बनाउन राष्ट्रपतिले अध्यादेश स्वीकृत नगरेको विषयलाई सकारात्मकरुपमा लिनुपर्ने भए पनि त्यसले निरन्तरता पाएमा मुलुक चल्न नसक्ने विचार व्यक्त गरे।


मन्त्रालयका सचिव ध्रुवप्रसाद शर्माले ७५ जिल्लामा शान्ति समिति गठन गरी प्रत्येक जिल्लामा शान्ति प्रक्रियासँग जोडिएका विषयलाई अघि बढाउन रु पाँच लाखको कार्यक्रम उपलब्ध गराइएको बताए। -रासस