पूर्व राजा ज्ञानेन्द्र शाहले धार्मिक यात्रा भन्दै पश्चिमाञ्चलका ६ जिल्लाको भ्रमण गर्दै गर्दा हलचल उत्पन्न, विरोधले भ्रमण स्थगित
आश्विन ५ गते, २०६९ मा प्रकाशित
पोखरा । धार्मिक यात्रा भन्दै पूर्व राजा ज्ञानेन्द्र शाह पश्चिमाञ्चलका ६ जिल्लाको भ्रमणमा निस्कदा त्यस क्षेत्रमा हलचल उत्पन्न भएको छ । पूर्व राजाले आजदेखि पर्वत, म्याग्दी, स्याङ्जा, तनहुँ तथा कास्कीका विभिन्न शक्तिपीठमा दर्शन गर्ने कार्यक्रम रहेको छ । पुर्व राजाको भ्रमण रोक्ने उद्देश्यका साथ म्याग्दीमा सत्ताधारी र विपक्षी १० दलले आज जिल्ला बन्द आह्वान गरेका कारण म्याग्दी भ्रमण स्थगित भएको छ । दलहरु ज्ञानेन्द्रको भ्रमणको विरोधमा उत्रिएपनि सर्वसाधारणले भने दलहरुको विरोधप्रति त्यति चासो दिएका छैनन् ।
दलहरुको बन्दका कारण स्थगित भएको म्याग्दी जिल्ला भ्रमण भोलि हुने पुर्व राजा निकटवर्तिहरुले जनाएका छन् ।
पुर्व राजाले म्याग्दी भ्रमण स्थगित गरेपछि दलहरुले पनि जिल्ला बन्द फिर्ता लिएका छन् । काठमाडौंदेखि स्थलमार्ग हुँदै हिजो पूर्व राजा पोखरा पुग्नु भएको थियो । पूर्व राजा ज्ञानेन्द्र पोखरा पुग्दा समर्थक र सर्वसाधारणले भब्य स्वागत गरेका थिए । पोखरा जाने क्रममा पनि शाहलाई धादिङको मलेखु र मुग्लिनमा सर्वसाधारणले स्वागत गरेका थिए ।
उहाँले मलेखुको भद्रकाली मन्दिरमा पूजा समेत गर्नुभएको थियो । तनहुँको आँबुखैरेनी र दमौलीमा पनि राप्रपा नेपालका कार्यकर्ता र सर्वसाधारणले स्वागत गरे । पूर्व राजाको स्वागतका लागि वृद्धवृद्धादेखि केटीकेटीसम्म हातमा फूलका गुच्छा लिएर बसेका थिए ।
कास्कीको लेखनाथबाट त युवाहरुले मोटरसाइकल स्कर्टिङ गरेरै पोखरा पु-याएका थिए । पूर्व राजाको स्वागतमा उभिएकाहरुले राजसंस्था र राष्ट्रिय अखण्डताको पक्षमा नारा लगाएका थिए । उहाँको सुरक्षामा ठाउँ ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका थिए भने सादा पोशाकका सुरक्षाकर्मी पनि उत्तिकै थिए ।
एकीकृत माओवादीलगायतका केही संघ संगठनले भ्रमण विथोल्ने धम्की दिएपनि उनीहरुको विरोध कार्यक्रम पूरै प्रभावहीन रह्यो । भ्रमणको विरोध गर्दै बुधबार साँझ पोखराका विभिन्न ठाउँमा कोणसभा गरेको थियो ।