माओवादी प्रचण्ड सहितका शीर्षनेता विरुद्ध ४ अर्ब बढी रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा मुद्दा दायर

काठमाडौं । २०६२-६३ को जनआन्दोलनयता अहिलेसम्म राज्यकोषबाट अर्बौ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै एमालेको युवा संगठन युवा संघ नेपालले माओवादीका शीर्ष नेताहरुविरुद्ध आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गरेको छ ।

 

युवा संघले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराई र स्थायी समिति सदस्य कृष्णबहादुर महराविरुद्ध अख्तियारमा मुद्दा दायर गरेको हो ।

माओवादीले शान्ति प्रक्रिया यता शिविरमा हुँदै नभएका नक्कली लडाकूहरुको संख्या खडा गरी विभिन्न समयमा राज्यकोषबाट अर्बौ रकम बुझेको आरोप युवा संघले लगाएको छ ।

 

अहिलेसम्म लडाकूका नाममा माओवादीका शीर्ष नेताले चार अर्बभन्दा बढी रकम दुरुपयोग गरेको किटानीसहित दायर गरिएको मुद्दाको छानबिन गरी दोषीमाथि कारबाही गर्न युवा संघले माग गरेको छ ।
 
पछिल्ला केहीवर्ष यता राजनीतिको आडमा मुलुकमा भ्रष्टाचार मौलाउँदै गएको ठहरसहित युवा संघले भ्रष्टाचारविरुद्धको अभियान शुरु गरेको जनाएको छ ।

 

आउँदा दिनमा यस्ता अभियानलाई निरन्तरता दिने संघको भनाइ छ । RSS.