पाकिस्तानी रेलमन्त्रीद्धारा मुस्लिमस् विरुद्धको फिल्मका निर्माताको हत्या गर्ने व्यक्तिलाई एकलाख डलर पुरस्कार दिने घोषणा

अमेरिकी फिल्म इनोसेन्स अफ मुस्लिमस् विरुद्धको विरोध विश्वका कतिपय देशमा बढ्दै गएको छ । विशेषतः मुस्लिम देशहरुमा उक्त फिल्मको व्यापक विरोध भएको छ । इस्लाम धर्मका प्रर्वतक पैगम्बर मोहम्मदको अपमानगरी फिल्म बनाइएको भन्दै भएको प्रदर्शनमा कयौंको ज्यान गईसकेको छ ।


यसैबीच पाकिस्तानी केन्द्रीय सरकारका रेलमन्त्री गुलाम अहमद बालोररले उक्त फिल्मका निर्माताको हत्या गर्ने व्यक्तिलाई एकलाख डलर पुरस्कार दिने घोषणा गरेका छन् । उनले शनिबार पेशावरमा सञ्चारकर्मीहरुसँग कुरागर्दै मानिसको ज्यान लिन उक्साउनु अपराध भएपनि पैगम्बर मोहम्मदको अपमान गर्नेगरी फिल्म बनाउने निर्माताको ज्यान लिने व्यक्तिलाई एकलाख डलर पुरस्कार दिन आफू तयार भएको बताएका हुन् ।


उनले यसपछि पनि त्यस्तो किसिमको फिल्म बनेको खण्डमा त्यसका निर्माताको ज्यान लिने व्यक्तिलाई एकलाख डलर पुरस्कार दिने सार्वजनिक घोषणा गरे । यसैबीच पाकिस्तानका रेलमन्त्री गुलाम अहमद बालोरले इनोसेन्स अफ मुस्लिमस् नामक चलचित्रका निर्माताको हत्या गर्नेलाई १ लाख डलर पुरस्कार दिने घोषणा गरेकामा पाकिस्तानी प्रधानमन्त्रीका प्रवक्ता शाफ्कत जलिलले भत्सर्ना गरेका छन् । शाफ्कतले उक्त घोषणा बालोरको व्यक्तिगत धारणा भएको र त्यसमा सरकारको समर्थन नरहेको स्पष्ट पारेका छन् ।


पैगम्बर मोहम्मदको अपमान गरिएको भनिएको अंग्रेजी चलचित्र इनोसेन्स अफ मुस्लिम्स्को विरोधमा पाकिस्तान र बंगलादेशमा विरोध प्रदर्शन चर्किएको छ । बंगलादेशको राजधानी ढाका लगायत अरु शहरमा प्रदर्शनकारीले अमेरिकी झण्डा जलाउनुका साथै अमेरिका बिरुद्ध नारा लगाएका छन । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास तथा लाठी प्रहार गरेको छ । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा थुपै्र घाइते भएका छन् । प्रदर्शनकारीले बंगलादेशका बिभिन्न शहरमा सरकारी कार्यालयमा आगजनी गर्नुका साथै सवारी साधनमा तोडफोड गरेका छन् ।


उता, फ्रान्समा पनि एक पत्रिकाले पैगम्बर मोहम्मदको अपमान हुने गरी कार्टून छापेपछि त्यसको पनि विरोध भएको छ । फ्रान्सले विवादास्पद चलिचत्र र उक्त कार्टुनका बारेमा देशभित्र विरोध प्रदर्शन गर्न रोक लगाएको छ । 

 

– एजेन्सी ।