इरानका विश्वविद्यालयमा स्नातकोत्तर तहमा महिलालाई अध्ययन गर्न रोक


 

इरानका ३० वटा विश्वविद्यालयमा स्नातकोत्तर तहमा महिलालाई अध्ययन गर्न रोक लगाइएको छ । इन्जिनियरिङ, कम्यूटर साइन्स, अंग्रेजी साहित्य, पुरातत्व र न्यूक्लियर फिजिक्समा महिलालाई भर्ना हुन रोक लगाइएको हो । सरकारले भने यो नयां नियम किन लागू गरिएको हो भन्ने विषयमा खुलाएको छैन ।

इरानका शिक्षा मन्त्री कामरान दानिशजुले नयां नियमलाई धेरै प्रचार गर्नु आवश्यक नभएको बताएका छन् । तर नोबोल पुरस्कार विजेता शिरिन इबादीले भने महिलालाई शिक्षाबाट टाढा राख्ने सरकारी नीति अनुरुप यो कदम चालिएको प्रतिक्रिया दिएकी छन् । मध्यपूर्वमा विश्वविद्यालयमा महिलालाई पढ्न अनुमति दिने इरान पहिलो मुलुक हो ।


तर, सन् २००९ पछि इरानमा रुढीवादी नेताहरुको पकड मजबुत भएपछि पश्चिमी शिक्षाको बढी प्रभाव हुन नहुने मत बलियो बन्दै आएको छ । इरानका सर्वोच्च धार्मिक नेता आयोतुल्लाह अली खामेनीले त विश्वविद्यालयमा इस्लामिकरणको माग गरेका छन् ।

 

– एजेन्सी