भोलिदेखि दशैको टिकट बुकिङ खुल्ने

 काठमाडौं, ९ असोज  भोलिदेखि दशैको टिकट बुकिङ खुल्ने भएको छ । दसँ तिहारजस्ता महत्वपूर्ण चाडबाडलाई ध्यानमा राखेर यातायात व्यवसायीहरूबाट भोलि बुधवारदेखि अग्रिम टिकट सुरक्षित गरिने भएका छन् ।

व्यवसायीहरूबाट यात्रुहरूको चापलाई ध्यानमा राखेर टिकट बिक्री कक्ष सञ्चालन गरिने भएका हुन् । यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोषाध्यक्ष सरोज सिटौलाका अनुसार बुधवारदेखि काठमाडौँको नयाँ बसपार्क, सुन्धारा, कलङ्कीलगायतका स्थानमा अग्रिम टिकट लिनका लागि कक्षहरू थप गरिने भएको छ ।

यातायात व्यवसायसँग सम्बन्धित अरु सङ्घसंस्थासँग पनि महासङ्घले छलफल गरिरहेको र दसँै, तिहार जस्ता चाडबाडलाई ध्यान दिएर यात्रुहरूलाई सहज सेवा प्रदान गर्नका लागि अग्रिम टिकट बिक्री कक्षको व्यवस्था गरिने सिटौलाको भनाइ छ । राजधानी बाहिर जाने यात्रुहरूको चापलाई हेरेर नियमितभन्दा ५० प्रतिशतभन्दा बढी सवारी साधन सञ्चालनको तयारी भइरहेको पनि सिटौलाले बताए । यातायात व्यवसायीहरूले पाँचसयभन्दा बढी नयाँ बस पनि थपेकाले सुविधा सम्पन्न सवारी साधनमा यात्रा गर्न पाउने समेत उनको दाबी छ ।

 

– RSS